सरकार व्यवसायीका समस्या समाधानमा गम्भीर छैन : अध्यक्ष रबी सिंह
सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको छैटौँ वार्षिक साधारण सभा शनिबार सुर्खेतमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबी सिंहको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले वर्तमान सरकार निर्माण व्यवसायीका ज्वलन्त समस्या समाधानप्रति गम्भीर नदेखिएको आरोप लगाए। उनले निर्माण व्यवसायीहरू भुक्तानी अभाव, मूल्यवृद्धि, नीतिगत अन्योल र प्रशासनिक झन्झटबाट पीडित भइरहँदा पनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताए।
अध्यक्ष सिंहले भने, “नेपालमा सुशासन र विकासको अपेक्षासहित जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजीकै भावना समेट्न सकेको छैन। फास्ट ट्र्याकबाट विकास निर्माणका काम अघि बढ्छन् भन्ने अपेक्षा थियो, तर सरकार पुरानै शैली र गतिमा सीमित देखिन्छ।”
उनले निर्माण क्षेत्र चलायमान नभएसम्म राष्ट्रिय अर्थतन्त्र उकास्न नसकिने उल्लेख गर्दै निर्माण व्यवसायीलाई आर्थिक मेरुदण्डका रूपमा लिएर नीति निर्माण गर्न सरकारलाई आग्रह गरे।
निर्माण क्षेत्र चलायमान भए मात्रै अर्थतन्त्र उकासिन्छ
कार्यक्रमका बारे दिपज्योती खबरले सँग जानकारी दिदै कालिकोट जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रतन बहादुर शाहीले निर्माण व्यवसायीहरू अहिले गम्भीर संकटमा रहेको बताए। उनले समयमा भुक्तानी नपाउनु, बैंक ब्याजदर उच्च हुनु, सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्नुजस्ता कारणले व्यवसाय धराशायी हुने अवस्थामा पुगेको उल्लेख गरे।
अध्यक्ष शाहीले भने, “निर्माण व्यवसायी चलायमान भए मात्रै कर्णालीको विकास सम्भव छ। सडक, पुल, भवन र पूर्वाधार निर्माण ठप्प हुँदा रोजगारी, बजार र स्थानीय अर्थतन्त्र सबै प्रभावित भएको छ।”
उनले आगामी फागुन महिनाभित्र सकभर त्यो तोकिएको समय अघाबै कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको निर्वाचन मिति तय भै निर्वाचन हुने विश्वास व्यक्त गर्दै नेतृत्व समयमै हस्तान्तरण हुनुपर्नेमा जोड दिए।
कर्णालीका १० जिल्लाबाट उल्लेख्य सहभागिता
साधारण सभामा जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालिकोट, सुर्खेत, जाजरकोट, रुकुम, सल्यान र दैलेख जिल्लाका अध्यक्षहरू, प्रतिनिधिहरू तथा निर्माण व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा महासंघका महासचिव मानव बमले प्रमुख अतिथि, विशिष्ट अतिथि, जिल्लागत अध्यक्षहरू तथा सहभागी सम्पूर्ण निर्माण व्यवसायीप्रति धन्यवाद व्यक्त गर्दै आपसी विश्वास, सहकार्य र एकताको भावना अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरे।
निर्माण क्षेत्रलाई चलायमान बनाउन सरकार, बैंक तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको निष्कर्षका साथ छैटौँ साधारण सभा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।







