सुर्खेत । संविधान दिवसको अवसरमा जेनजी अभियन्ता प्रकाश खड्काले नेपालको संविधानले सुनिश्चित गरेका अधिकार, स्वतन्त्रता, समानता र सामाजिक न्यायका मूल्य–मान्यतालाई कागजमा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै खड्काले संविधानलाई राज्य सञ्चालनको कानुनी दस्तावेज मात्र नभई नागरिकका अधिकार, स्वतन्त्रता र भविष्यसँग प्रत्यक्ष जोडिएको साझा आधारका रूपमा बुझ्नुपर्ने बताएका हुन्।
नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको स्मरण गर्दै उनले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, मौलिक हक, समानता, सामाजिक न्याय, समावेशिता, स्वतन्त्रता, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता तथा विधिको शासनको आधार सुनिश्चित गरेको उल्लेख गरे।
‘संविधान दिवस औपचारिकतामा सीमित हुनु हुँदैन’
खड्काका अनुसार संविधान दिवस केवल शुभकामना आदानप्रदान र औपचारिक कार्यक्रम गर्ने दिन मात्र होइन, संविधानले नागरिकलाई दिएको अधिकार र राज्य तथा नागरिकका जिम्मेवारीबारे पुनः आत्मसमीक्षा गर्ने अवसर पनि हो।
“संविधानले दिएको अधिकार माग्नु जति महत्वपूर्ण छ, संविधानले निर्धारण गरेको कर्तव्य पूरा गर्नु पनि उत्तिकै महत्वपूर्ण छ,” उनले भनेका छन्।
उनले राज्यका निकायलाई संविधान र कानूनप्रति जवाफदेही बनाउनुका साथै नागरिकले पनि अरूको अधिकारको सम्मान गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, सामाजिक सद्भाव कायम राख्ने र लोकतान्त्रिक प्रक्रियामा जिम्मेवार सहभागिता जनाउने संस्कार विकास गर्नुपर्नेमा जोड दिएका छन्।
‘युवा पुस्ताले उठाएका प्रश्नलाई बिर्सनु हुँदैन’
खड्काले २०८२ साल भदौ २३ गतेदेखि सुरु भएको युवा पुस्ताको आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता र राज्य सञ्चालनमा युवाको अर्थपूर्ण सहभागिताका प्रश्नलाई संविधान दिवसको अवसरमा पनि सम्झिनुपर्ने बताएका छन्।
उनका अनुसार उक्त आन्दोलनले नयाँ पुस्तामा संविधान, लोकतान्त्रिक व्यवस्था र राज्यप्रतिको आफ्नो भूमिका तथा अधिकारबारे थप बहस सिर्जना गरेको थियो।
“संविधान केवल किताबमा लेखिएको दस्तावेज होइन। यसले हाम्रो अधिकार, स्वतन्त्रता, समानता र भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्छ भन्ने कुरा नयाँ पुस्ताले अझ नजिकबाट बुझ्ने अवसर पायो,” खड्काले भनेका छन्।
काठमाडौँबाट सुरु भएको उक्त आन्दोलन देशका विभिन्न स्थानमा फैलिएको र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि युवाहरूको सहभागितामा आन्दोलन भएको उनले बताएका छन्। सुर्खेतमा भएको आन्दोलनको नेतृत्व आफूले गरेको दाबी गर्दै खड्काले त्यसलाई सरकार परिवर्तन वा सत्ता पक्ष र विपक्षबीचको संघर्षका रूपमा मात्र बुझ्न नहुने बताएका छन्।
उनका अनुसार आन्दोलनसँग जोडिएका मुख्य प्रश्न सुशासन, भ्रष्टाचार नियन्त्रण, राज्यको जवाफदेहिता र सार्वजनिक निकायमा नयाँ पुस्ताको अर्थपूर्ण सहभागितासँग सम्बन्धित थिए।
‘युवा नेतृत्व आएर मात्र अपेक्षा पूरा हुँदैन’
खड्काले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारमाथि नयाँ पुस्ताका अपेक्षा सम्बोधन गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्।
उनका अनुसार संविधानको पूर्ण पालना, विधिको शासन, पारदर्शिता, सुशासन तथा नागरिकका मौलिक अधिकारको संरक्षण सरकारका प्राथमिक विषय बन्नुपर्छ।
“सरकारमा युवा नेतृत्व आउनु आफैँमा पर्याप्त होइन। युवा पुस्ताले उठाएका प्रश्नको सम्बोधन शासन प्रणाली र कार्यशैलीमा देखिनुपर्छ। संविधानको पूर्ण पालना गर्दै राज्यका सबै निकायलाई जवाफदेही बनाउने जिम्मेवारी वर्तमान सरकारको हो,” उनले भनेका छन्।
‘संविधान सबै नेपालीको साझा आधार हो’
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले विविधताबीचको एकता संविधानको महत्वपूर्ण आधार भएको खड्काको भनाइ छ।
उनले संविधानलाई कुनै राजनीतिक दल, समूह वा वर्ग विशेषको दस्तावेजका रूपमा नभई सम्पूर्ण नेपालीको साझा अधिकार र जिम्मेवारीसँग जोडिएको मूल कानुनी आधारका रूपमा बुझ्नुपर्ने बताएका छन्।
“हामी विभिन्न जाति, धर्म, भाषा, लिङ्ग, क्षेत्र र समुदायबाट आएका हुन सक्छौँ। हाम्रो विचार फरक हुन सक्छ, तर हामी सबै नेपाली हौँ। हाम्रो साझा घर नेपाल हो र हाम्रो साझा संवैधानिक आधार नेपालको संविधान हो,” उनले भनेका छन्।
‘सुधार आवश्यक भए संवैधानिक बाटोबाटै’
खड्काले संविधानका उपलब्धिको संरक्षण गर्दै आवश्यक सुधार तथा परिमार्जनका विषयलाई पनि लोकतान्त्रिक र संवैधानिक प्रक्रियामार्फत अघि बढाउनुपर्ने बताएका छन्।
उनका अनुसार संविधान दिवस विगतको स्मरणमा मात्र सीमित नभई न्यायपूर्ण, समान, समावेशी, उत्तरदायी र सुशासित नेपाल निर्माणका लागि राज्य तथा नागरिक दुवैले आफ्नो भूमिका पुनः सम्झने अवसर हो।
संविधान दिवसको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुशासन, सामाजिक सद्भाव र राष्ट्रिय एकताको शुभकामना व्यक्त गरेका छन्।
“संविधान दिवस केवल एउटा ऐतिहासिक दिनको सम्झना गर्ने अवसर होइन, संविधानले परिकल्पना गरेको न्यायपूर्ण, समान, समावेशी र सुशासित नेपाल निर्माण गर्ने हाम्रो प्रतिबद्धता दोहोर्याउने दिन पनि हो। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संविधान दिवसको हार्दिक शुभकामना,” खड्काले भनेका छन्।







