कालीकोट। कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा गएको लगातार पहिरोका कारण कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालयका अनुसार २०८२ भदौ १४ गतेदेखि पूर्ण अवरुद्ध बनेको सो राजमार्ग प्राविधिक निकाय, नेपाली सेना र स्थानीय प्रशासनको अथक प्रयासपछि मङ्गलबार (भदौ १७) दिउँसो करिब १२ बजे मात्रै सञ्चालनमा आएको थियो। तर, सोही दिन साँझ ५ः३० बजेतिर पुनः अविरल वर्षाका कारण ठूलो–ठूलो ढुंगा र लेदो खस्दा राजमार्ग पुनः बन्द भएको हो। सडक डिभिजन जुम्लाका प्रमुखले जानकारी दिँदै निरन्तर वर्षा भइरहेकोले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको बताए। भोलि भदौ १८ गतेदेखि मात्र सडक सुचारु हुने सम्भावना रहेको प्रारम्भिक अनुमान गरिएको छ।
राजमार्ग फेरि अवरुद्ध भएपछि जुम्ला, मुगु र हुम्लाबाट राजधानीतर्फ निस्केका यात्रुहरू बाटैमै अलपत्र परेका छन्। मालवाहक ट्रकहरू पनि सयौंको संख्यामा रोकिन पुगेका छन्। विशेषगरी जुम्लाको स्याउ राजधानीतर्फ पठाउने किसान र व्यापारीले ठूलो घाटा बेहोर्नुपर्ने चिन्ता बढेको छ। किसानले फल उत्पादनका लागि गरेको एक वर्षको मिहिनेत सडक बन्दले नष्ट हुने डर रहेको भन्दै सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन्।
जिल्ला प्रशासन कार्यालय, कालीकोटले यात्रुलाई अत्यावश्यक बाहेकको यात्रा हाललाई नगर्न आग्रह गरेको छ। यात्रामा निस्कनु अघि मौसम र सडकको अवस्थाबारे पूर्ण जानकारी लिनुहोस्। रात्री समयमा यात्रा नगर्न विशेष अनुरोध गरिएको छ। यात्रामा निस्किसकेका यात्रुले सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न अपिल गरिएको छ।
कर्णाली राजमार्ग मात्र कालीकोट, जुम्ला वा मुगुको जीवनरेखा नभई सम्पूर्ण कर्णालीवासीका लागि जीवन–मरणको विषय भएकोले यसलाई तत्काल सञ्चालनमा ल्याउन सरकार, स्थानीय निकाय र प्राविधिक निकायहरूलाई पूर्ण प्रतिबद्धता देखाउनुपर्ने आवश्यकता रहेको सरोकारवालाले बताएका छन्।