जुम्ला। बजेट अभाव, जग्गा विवाद र ठेकेदारको चरम ढिलासुस्तीले जुम्लाका खेल पूर्वाधार वर्षौंदेखि अलपत्र परेका छन्। विश्व कीर्तिमानी धावक हरि बहादुर रोकाया र चर्चित धाविका सुनमाया बुढाको जन्मभूमि मानिने जुम्लामा खेल क्षेत्रको अवस्था भने दयनीय बनेको छ। एथेलेटिक्स खेलाडीहरूलाई अभ्यास गर्ने गतिलो मैदान छैन। वर्खामा पानी र हिउँदमा हिउँ नभनी डाँडापाखा चढेर दौडिन बाध्य भएका उनीहरूले खेलमैदान नहुँदा टुडिखेल प्रयोग गर्न सेनासँग अनुमति माग्नुपर्ने बाध्यता छ।
धावक हरि बहादुर रोकायाले भने, “मैले खाली खुट्टा डाँडापाखा दौडिएर विश्व रेकर्ड राखे। तर आजसम्म जुम्लामा एक गतिलो रंगशाला छैन। कतै जग्गा विवाद, कतै बजेट अभाव त कतै ठेकेदारको ढिलासुस्तीले संरचना अलपत्र छन्।” पातारासी गाउँपालिका–३ मा निर्माणधीन हाई अल्टिच्युट टेर्निङ सेन्टर जग्गा विवादका कारण सात वर्षदेखि रोकिएको छ। करिब ३ करोड खर्च भइसके पनि मैदानको काम अघि बढ्न सकेको छैन। गत आर्थिक वर्षमा मात्र ५ करोड ६६ लाख बजेट फ्रिज भएको छ। हाल संघीय सरकारले पुनः २२ करोड विनियोजन गरे पनि जग्गा विवाद नटुंगिँदासम्म कार्यान्वयनमा समस्या रहने देखिन्छ।
राजसिममा निर्माणाधीन रंगशाला पनि ठेकेदारको ढिलासुस्तीले अधुरै छ। ४० करोड ६२ लाखको ठेक्कामा बनेको रंगशालाको भौतिक प्रगति ७० प्रतिशत मात्र छ। सम्झौता अवधि सकिनै लाग्दा पनि करिब ३० प्रतिशत काम बाँकी छ। जिल्ला खेलकुद विकास समितिको आडैमा ६ वर्षदेखि निर्माणधीन भलिबल प्याराफिट बजेट नआउँदा रोकिएको छ। सुरुमा २० लाख, दोस्रो वर्ष २५ लाख खर्च भए पनि पछिल्ला वर्षमा बजेट नआएपछि सरिया खिया लागेर संरचना नष्ट हुने अवस्थामा पुगेको छ।
सुविधा नहुँदा खेलाडीहरू अभ्यासमै हतोत्साहित भएका छन्। धावक, करातेका खेलाडीदेखि अन्य खेलप्रेमीहरू अन्यत्र पलायन हुनुपर्ने स्थिति आएको प्रशिक्षक लाल बहादुर रोकायाले गुनासो पोखे।उनले भने, “उचित मैदान नहुँदा खेलाडीलाई ढुंगा माटोमा अभ्यास गराउनु पर्ने बाध्यता छ। यसरी जिल्लाको खेल क्षेत्र कहिल्यै फड्को मार्न सक्दैन।”
विश्वस्तरका खेलाडी उत्पादन गर्ने क्षमता भएको जुम्ला आज पनि पूर्वाधार अभावले पिछडिएको छ। हाई अल्टिच्युट टेर्निङ सेन्टर, राजसिम रंगशाला र प्याराफिट निर्माण समयमै सम्पन्न भए मात्र जुम्ला खेलकुदको केन्द्र बन्न सक्ने सम्भावना अझै बाँकी छ।