सुर्खेत। चथरको फालेलुङ गाउँपालिका–७ की २२ वर्षीया अनु राईको ज्यान आफ्नै श्रीमानको हिंसाबाट गएको छ। बिहीबार राति ससुराली घर पुगेका २७ वर्षीय महेन्द्र तामाङले अनुको टाउकोमा कोदालोको पासोले प्रहार गरेपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो।
अनु हाल फिदिम नगरपालिका–२ मा रहेको माइतीघरमै बसिरहेकी थिइन्। महेन्द्र वैदेशिक रोजगारीको प्रयासमा केही समयअघि काठमाडौं गएका थिए तर योजना असफल भएपछि हालै गाउँ फर्किएका थिए। माइतीघरमै बसेकी अनुमाथि ससुराली आइपुगेका महेन्द्रले राति करिब १० बजे पारिवारिक विवादका क्रममा आक्रमण गरेका थिए।
गम्भीर अवस्थामै जिल्ला अस्पताल फिदिम पुर्याइएको अनुको त्यहाँ उपचार सम्भव नभएपछि झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएको थियो। अस्पतालले शुक्रबार बिहान ४ः३० बजे अनुको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए।
घटनापछि फरार भएका महेन्द्रलाई प्रहरीले सोही रात फिदिम–६ स्थित गोलेगाँउबाट नियन्त्रणमा लिएको छ। अहिले उनी प्रहरी हिरासतमा छन् र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
यो घटनाले घरेलु हिंसाको जटिल पक्ष फेरि एकपटक उजागर गरेको छ।