काठमाडौं। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। वि.सं. १७७९ मा जन्मिएका शाहको योगदानको स्मरण गर्दै राजधानीदेखि जन्मभूमि गोरखासम्म श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ।
आज बिहान सिंहदरबार पश्चिम ढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गर्दै राष्ट्रका उच्च पदाधिकारी, सुरक्षाकर्मी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले श्रद्धाञ्जली अर्पण गरेका छन्। पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोहको आयोजना गरेको छ, जसमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेता तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ।
पृथ्वीनारायण शाहको जन्मस्थान गोरखामा पनि प्रत्येक वर्षझैँ यस वर्ष विशेष कार्यक्रम आयोजना गरिएको छ। नेपाली सेनाले सैनिक मुख्यालय जंगीअड्डा परिसरमा रहेको पूर्णकदको सालिकमा माल्यार्पण गरी राष्ट्रनिर्माताप्रति सम्मान व्यक्त गरेको छ।
२० वर्षको उमेरमा गोरखाको गद्दी सम्हालेका शाहले बाइसे–चौबीसे राज्यलाई एकीकृत गर्दै आधुनिक नेपालको आधार निर्माण गरेका थिए। आन्तरिक द्वन्द्व, भौगोलिक कठिनाइ र बाह्य शक्तिको दबाबबीच अघि बढाइएको उनको एकीकरण अभियानकै कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एक रहन सफल भएको मानिन्छ।
उनले दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने दिव्योपदेश आज पनि सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा उत्तिकै सान्दर्भिक छन्। साथै, नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’को संज्ञा दिँदै राष्ट्रिय स्वाधीनता र कूटनीतिक सन्तुलनमा जोड दिएको उनको दृष्टिकोण आजको समयसँग पनि मेल खान्छ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र पहिचानलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई सुदृढ बनाउने सन्देश दिने विश्वास गरिएको छ। यस दिवसले विशेषगरी युवापुस्तामा मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।







