काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको बडादसैँ अवधिभर पनि देशभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ। महाशाखाले मंगलबार जारी गरेको विशेष बुलेटिन अनुसार असोज १४ गते रातिदेखि असोज १९ गते (त्रयोदशी) सम्म नेपालका विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा, कतिपय स्थानमा भारी वर्षा र केही स्थानमा अति भारी वर्षा समेत हुने सम्भावना रहेको छ।
हाल देशमा मनसुनी वायु र स्थानीय वायूको प्रभाव रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली छ भने अन्य स्थानमा आंशिक बदली देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
यसैबीच बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओरिसाबाट जमिनको भागमा प्रवेश गरी मध्य भारततर्फ सर्दैछ। यसको प्रभाव असोज १७ गते (एकादशी) देखि नेपालमा मनसुनी गतिविधि अझ सक्रिय हुने देखिएको छ।
🔹 दैनिक पूर्वानुमान
असोज १५ (बुधबार): दिउँसो सबै प्रदेशमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका एक–दुई स्थानमा भारी वर्षा। राति कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका केही स्थानमा मध्यम तथा कतिपय स्थानमा भारी वर्षा।
असोज १६ (बिहीबार): दिउँसो देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा, साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा। राति कोशी, मधेश, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा मध्यम वर्षा।
असोज १७ (एकादशी): कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, साथै एक–दुई स्थानमा भारी वर्षा।
असोज १८ (द्वादशी): कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा, थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा।
असोज १९ (त्रयोदशी)स् कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा। कतिपय स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षा समेत हुने सम्भावना।
🔹 महाशाखाको चेतावनी
महाशाखाले असोज १७ गतेपछि मनसुनी क्रियाकलाप थप तीव्र हुने भएकाले नदी–नाला र पहिरो सम्भावित क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै दशैँ अवधिमा यात्रु आवागमन बढ्ने भएकाले सडक तथा हवाई यातायातमा अवरोध आउने संभावना रहेकाले सचेत रहन अनुरोध गरिएको छ।







