काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानका लागि नयाँ भाडादर सार्वजनिक गरेको छ । प्राधिकरणले बिहीबार जारी गरेको सूचनामा तोकिएको दरभन्दा बढी रकम असुली गरेर टिकट बिक्री गर्ने हवाई सेवाप्रदायक कम्पनी वा एजेन्टहरूमाथि कानुनअनुसार कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ ।
आगामी दशैं–तिहार जस्ता चाडपर्वका समयमा यात्रुहरूको चापलाई ध्यानमा राखी प्राधिकरणले विभिन्न ट्रंक सेक्टरका लागि भाडादर तोकेर सार्वजनिक गरेको हो । यात्रीहरूलाई तोकिएको भाडादरभन्दा बढी रकम तिर्न बाध्य पारेमा यात्रुहरूले प्रमाणसहित उजुरी गर्न सक्ने व्यवस्था समेत गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले यात्रुहरूलाई तोकिएको दरअनुसार मात्रै टिकट खरिद गर्न र कुनै अनियमितता देखिए तत्काल जानकारी गराउन आग्रह गरेको छ ।








