जुम्ला । यो वर्षको अहिलेसम्म जुम्लाबाट ३८ करोड रुपैयाँबराबरको स्याउ बिक्री भएको छ ।
यस वर्ष यहाँ १४ हजार टन स्याउ उत्पादन हुने अनुमान गरिएको थियो । अहिलेसम्म ५ हजार आठ सय टन बाहिरी जिल्लामा निर्यात हुँदा ३८ करोड १० लाख रुपैयाँ जुम्लामा भित्रिएको छ । यो वर्ष ४० करोडबराबरको स्याउ उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाको अनुमान छ ।
स्याउ निर्यातकै सिजनमा अविरल वर्षापछि बाढीपहिरो आएर बाटो अवरुद्ध हुँदा करोडौंको स्याउ बाटोमै कुहिन पुगेको थियो । यो वर्ष पाँच हजार ८ सय टन स्याउ बाहिरी जिल्लामा निर्यात हुँदा ३८ करोडभन्दा बढी जुम्लामा आम्दानी भएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर रोकायाले बताए । उनका अनुसार यो तथ्यांक असोज ८ गतेसम्मको हो ।
अहिले पनि स्याउ निरन्तर निर्यात भइरहेको छ । उनले भने, ‘जुम्ला र कालिकोटको सीमावर्ती क्षेत्र नाग्मको प्रहरी चौकीमा छुट्टै फाइल खडा गरिएको छ । त्यो फाइलमा जुम्लाबाट कसले कति स्याउ लग्यो भन्ने सबै विवरण छ । सोही आधारमा हामीले लगत राखेका छौं । कुल उत्पादन र निर्यातको यकिन तथ्यांक आउन अझै बाँकी छ ।’
बिक्री मूल्य तलमाथि भए पनि सरदर प्रतिकिलो ६५ रुपैयाँले हिसाब गर्दा ३८ करोडभन्दा बढी जुम्लामा भित्रिएको छ । स्याउ निर्यातको यकिन विवरण भने कात्तिक मसान्तमा मात्रै आउनेछ । जुम्लाका करिब १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् । जिल्लाको चार हजार दुई हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । यहाँ स्थानीय जातका साथै इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको छ ।
केही समय मूल्य नपाएर थन्किएको जुम्ली स्याउको अहिले आएर बजारमा माग बढेको हो । आयातित स्याउले बजार लिने र स्वदेशी उत्पादनले मूल्य नपाउने विषयमा संसद्देखि हरेक ठाउँमा आवाज उठेपछि जुम्ली स्याउले बजार लिएको हो । विशेष गरी जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्रबहादुर शाहीले जुम्ली स्याउको बजारीकरणका लागि विभिन्न तवरबाट पहल गरेसँगै बजार बढेको किसानले बताएका छन् । स्वदेशी उत्पादनलाई बजार सुनिश्चित गर्नुपर्ने, आयातित स्याउलाई अनिवार्य क्वारेन्टाइन जाँच गर्नुपर्ने लगायतका विषयमा सांसद शाहीले संसद्मा आवाज उठाउनुका साथै संघीय कृषिमन्त्रीलाई पनि ध्यानाकर्षण गराएका थिए ।
जुम्ली स्याउले बजार लिन थालेपछि उत्साह थपिएको सिञ्जा गाउँपालिका–६ जोडुका विज्ञान बुढाले बताए । ‘स्याउ बिक्री नहुने चिन्ता थियो । तर, पछिल्लो एक महिनायता जुम्ली स्याउको माग बढेपछि उत्साह थपिएको छ । बगैंचामै आएर व्यापारीले पैसा दिएका छन् । घरमै बसेर उपयुक्त मूल्य पाएका छौं,’ उनले भने । सबैको पहलले यस वर्ष स्याउले बजार लिए पनि दिर्घकालीन बजार व्यवस्थापनका लागि किसानलाई ढुवानीमा सहुलियत, उपयुक्त मूल्य निर्धारण र रोगकिरा नियन्त्रणको आवश्यक सीप तथा प्रविधि सरकारले दिनुपर्ने किसानको माग छ ।
स्थानीय किसान रामसिंह रावलले जिल्लामै प्रतिकार्टुन १२ सयदेखि १५ सय रुपैयाँमा स्याउ बेचेर मनग्य कमाइरहेको बताए । जुम्लाको स्याउको बजार सुनिश्चित गर्न ठोस नीति बन्नुपर्नेमा उनले जोड दिए । जुम्लाको स्याउ काठमाडौं, पोखरा, झापा, धनगढी, बुटवल, सुर्खेत, नेपालगन्ज लगायतका शहरमा बिक्री हुन्छ । युगन्युजबाट साभार