दैलेख । दैलेखको आठबिस नगरपालिका – ६ मा महिनावारी सम्बन्धी सामाजिक विकृति हटाउन र महिलाहरूमा स्वास्थ्य र स्वच्छताप्रतिको सचेतना फैलाउने उद्देश्यले एक महत्वपूर्ण जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
मेरै रगतले रचित छ संसारको सृष्टि त्यहीँ रगतलाई घृणित नजरले हेर्ने कस्तो तिम्रो दृष्टि भन्ने मूल नाराको साथ महिनावारीका क्रममा अपनाउनुपर्ने सरसफाइका मापदण्ड प्याड बितरण गरेएको हो ।
उक्त कार्यक्रम सिन्धुपाल्चोक घर भइ काठमाडौंमा पत्रकारिता र साहित्य अध्ययनरत ललिता गजमेर र उनका साथी कानुन विद्यार्थी रन्जना कामी , पत्रकारिता अध्ययनरतका साथै कार्यरत सुशीला थापा, र राजनीतिक शास्त्रको विद्यार्थी धना परियारको पहलमा कार्यक्रम सम्पन्न भएको हो ।
उनीहरुले त्यहाँका महिलाहरुले भोग्नु परेका सामाजिक कुसंस्कार,महिनावारी भएको बेला आउने चुनौती,धार्मिक हिसाबले गलत परिभाषित गरेको छाउपडी प्रथाको विरुद्धमा सकारात्मक बहस समेत गरेकी छन् ।
महिलाहरूलाई महिनावारीका क्रममा अपनाउनुपर्ने सरसफाइका मापदण्डहरू, स्वास्थ्य सावधानीहरू, र प्याडको सही प्रयोगको विषयमा व्यापक जानकारी दिइएको थियो । कार्यक्रमको महत्वपूर्ण अंश भनेको स्थानीय महिलाहरूलाई निःशुल्क रुपमा प्याड वितरण गर्नु थियो । चारजना युवतीको सल्लाहमा केही महिना अघि उक्त कार्य गर्ने योजना तय भएको थियो । उनीहरुले तय गरे जस्तै कार्य सफलताको साथ सम्पन्न भएको हो ।
छाउपडी,महिलाहरूमाथि हुने घरेलु हिंसा,सामाजिक अपराध,बलात्कार जस्ता थुप्रै विकृतिहरुको विरुद्धमा उनीहरुले लामो समयदेखि आवाज उठाउदै आएका छन । समाजमा हुने नकारात्मक क्रियाकलापहरुलाई तोड्नुपर्ने उनीहरुको भनाइ छ । उनीहरुले दैलेखमा गरेको यो कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।