कर्णाली सरकारमा कसको नेतृत्वमा जाने, कांग्रेसभित्र रस्साकस्सी

  ।   ८ श्रावण २०८१, मंगलवार १५:२७

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले सोमबार राजीनामासँगै माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । माओवादी प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारलाई समर्थन फिर्ता लिएको जानकारी गराएका छन् । कर्णालीमा माओवादीका १३ जना प्रदेश सभा सदस्यहरु रहेका छन् ।

माओवादीले समर्थन फिर्ता लिएसँगै एमाले–कांग्रेसलाई औपचारिक रुपमा नयाँ गठबन्धनको सरकार बनाउन बाटो खुला गरेको छ । विवरणहरु अनुसार मुख्यमन्त्रीमा यामलाल कँडेलले नै निरन्तरता पाउने देखिएको छ । यसअघि माओवादीले सम्हालेका मन्त्रालयहरुमा कांग्रेसको सहभागीना रहने देखिन्छ । यद्यपि सरकारमा सहभागीताबारे कांग्रेसभित्र छलफल हुन बाँकी रहेको कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले बताए ।

‘यसअघि माओवादीले नै सम्हालेको ठाउँमा चित्त बुझाउने कि, त्यस बाहेक अरु विषयमा पनि छलफल चलाउने भन्ने विषयबारे दलभित्र छलफल भएको छैन,’उनले भने, ‘माओवादीले समर्थन फिर्ता लिएपछि अब औपचारिक रुपमा दुई दलहरुबिच केही छलफल होला ।’

अहिलेसम्म दुई दलबिच भने सरकारको विषयमा खासै छलफल भएको देखिन्न । कांग्रेसका अधिकांश प्रदेश सभा सदस्यहरु मन्त्री पद माग्न काठमाडौँमा छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंले अबको एक हप्ताभित्र कांग्रेसले सरकारका सहभागीता जनाइसक्ने बताए । ‘अब धेरै समय लाग्दैन, उहाँहरु सायद धेरैजना बाहिर हुनुहुन्छ, आएपछि छलफल हुन्छ, एक हप्ताभित्र उहाँहरु सरकारमा जानुहुन्छ,’उनले भने, ‘मोडालिटीको विषयमा छलफल होला ।’

कसको नेतृत्वमा सरकारमा जाने, कांग्रेसभित्र रस्साकस्सी

कर्णालीमा कांग्रेस संसदीय दल यतिबेला दल नेताविहीन अवस्थामा छ । दल नेता जीवनबहादुर शाही निलम्बनमा परेपछि कांग्रेस दल नेताविहीन भएको हो । दल नेता नै नहुँदा मन्त्री पद माग्नका लागि कांग्रेसका अधिकांश प्रदेश सदस्य काठमाडौँ पुगेका छन् ।

तीन जना बाहेक सबै सदस्य काठमाडौँ छन् । उनीहरूले काठमाडौँमा नेताहरूलाई भेटघाट गर्ने, मन्त्रीलाई बधाई दिनुका साथै आफ्ना लागि मन्त्री पद मागिरहेका छन् । कर्णाली कांग्रेस संसदीय दल नेताविहीन हुँदा आफूहरू काठमाडौँ जानु परेको सदस्यहरूले बताएका छन् । कांग्रेसको तर्फबाट प्रमुख सचेतक हिक्मतबहादुर विष्टले प्रतिनिधित्व गर्दै आएका छन् ।

उनीपछि साउन महिना लाग्नु अगावै काठमाडौँ हानिएका थिए । अझै उनी फर्किएका छैनन । कांग्रेसभित्र अहिले दुई वटा विषय छन्, एउटा मन्त्री छनोट र अर्को कसको नेतृत्वमा सरकारमा जाने । यसअघि संसदीय दलको नेताको लागि अग्रसर भएका केन्द्रीय सदस्यसमेत रहेका राजीव विक्रम शाहले आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुन ‘लबिङ’ गरिरहेका छन् । उनी लामो समयदेखि काठमाडौँमा नै बसेर छलफल चलाइरहेका छन् । शाह कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरुजु राणाका विश्वास पात्र हुन् ।

कांग्रेसका प्रदेश सभा सदस्य पुर्णबहादुर खत्रीले कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री बन्ने भन्ने कुरा सबै गर्भमै रहेको बताए । ‘दल नेता भएको भए हामी काठमाडौँ आउनु पर्ने थिएन, पूर्ण दाइ र जीवन दाइ दुवै यतै भएकाले यतै आएका हौँ,’उनले भने ।

प्रदेशमा संस्थापन समूहकै पार्टी उपसभापति पूर्णबहादुर खड्का र जीवनबहादुर शाहीको नै बलियो प्रभाव छ । उनीहरुले कसको नेतृत्वमा पठाउने भन्ने विषयमा गृहकार्य चलाइरहेको स्रोतको दाबी छ । स्रोतहरुका अनुसार सम्भवतः यो पटक राजीव विक्रम शाहकै नेतृत्वमा सरकारमा जाने हुन सक्छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले अहिले सबै सदस्यको मन्त्री बन्ने चाहना रहेको बताए ।

Next Post

सौर्य एयरलाइन्सको जहाज उड्ने क्रममा दुर्घटना १८ जनाको शव निकालियो

८ श्रावण २०८१, मंगलवार १५:२७
काठमाडौँँ । काठमाडौँँ सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँँमा दुर्घटना भएको छ । जहाज उड्ने क्रममा दुर्घटना भएको हो । दुर्घटना भए लगत्तै जहाजमा आगो लागेको छ । सुरक्षाकर्मी र अग्नि नियन्त्रक टोलीले जहाजको आगो निभाएको छ । सौर्य एयरको जहाज दुर्घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुग्नुभएको […]

सम्बन्धित शीर्षक