अपडेट

रोपो सुक्यो, आश्वासन बर्सियोस: खेतमा पानी छैन, भाषणको वर्षा मात्रै छ

  ।   १३ श्रावण २०८२, मंगलवार १५:३१

सुर्खेत । बर्खायाम सुरु हुनु अगाडि मौसम विभागका विज्ञहरूले ढुक्कका साथ भविष्यवाणी गरेका थिए — यो वर्ष पानी प्रशस्त पर्छ, रोपाइँमा ढिलाइ हुँदैन। मधेशमा केही कम भए पनि खेतीपातीमा खासै असर नपर्ने बताइयो। मौसमविद्, त्यो पनि राज्यको तर्फबाट नियुक्त, विज्ञान र प्रविधिमा दक्ष – जब उनीहरूले यति निश्चितता साथ बोले, भुइँमान्छेले पत्याउनु स्वाभाविकै हो।

रोपाइँको तयारी जोसजाँगरका साथ भयो। घरका मानिसहरू विदेशिए पनि गाउँले जुटे, खाल्डो पारी, ढुंगा झिक्दै, छिपछिपे हिलोमा रोपो रोपे। मनमा आशा र शंका दुबै थियो — पानी पर्नेछ कि खेतै बग्ने गरी पर्लारु तर न आशा बाँकी रह्यो, न डरको औचित्य। आकाशबाट पानीको साटो घामको चर्को मात्र आयो। खेत सुक्न थाल्यो, धानको रोपो उजाड भइदियो।
मौसम विभाग फेरि सक्रिय भयो । पूर्वानुमान सधैँ मिल्दैन, अझै पानी पर्ने सम्भावना छू, भन्दै।

तर खेतमा बस्ने किसानलाई यस्ता तर्कले चित्त बुझ्दैन। उनीहरू धाँजा परेको माटोमा बसेर आकाश हेर्छन्, आकाशले सुनेजस्तो गरी हात जोड्छन्। त्यत्तिकैमा एक हेलिकप्टर देखिन्छ। मनमा आशा पलाउँछ — के विदेशजस्तै यताबाट पनि पानी झार्न लागेका हुन्रु तर त्यो त प्रधानमन्त्री, मन्त्री र नेताहरूको ‘दौरा’ पो रहेछ। खेतमा पानी थिएन, तर भाषणको बाढी सुरु भयो। प्रधानमन्त्रीले उद्घोष गरे — मधेशमा तत्काल पाँच सय वटा डीप बोरिङ जडान गर्नेछौं।

तर प्रश्न उब्जिन्छ । कहिले अहिले पानी चाहिएको छ, डीप बोरिङ बन्ने समयसम्म खेतमा रोपोको नामनिशान पनि नरहला। पहिले पनि सरकारी सिँचाइ योजनाको नाममा धेरै वाचा भए, तर फाँटमा पानी देखिएन। वर्षौंदेखि सिँचाइ आयोजना अधुरै छन्।
प्रधानमन्त्रीको हेलिकप्टर मैदानमा डुल्यो, तर आवाजमा गति थियो, योजनामा होइन। भुइँमान्छे बुझ्छ । डीप बोरिङ अस्थायी टालटुल हो, समस्याको दीर्घकालीन समाधान होइन।

किसान फेरि खेततिर फर्किए, पानी खोज्दै। आफूले पिउन ल्याएको दुईचार थोपा पानी रोपोमा छर्किए। त्यो रोपोको रेसा हलचल भएजस्तो लाग्यो। एक छिनलाई लाग्यो ।अब त केही होला तर चारैतिर सुक्खा मात्र। त्यही बेला रेडियोले अर्को खबर सुनायो । चितवनमा लोडशेडिङ अब तालिका अनुसार हुने भयो।

बिजुलीबिना डीप बोरिङ के काम अहिले नै बत्ती छिँदैछ, अब त पानी तान्न मिल्ने ग्यारेन्टी पनि छैन। लोडशेडिङ चितवनमा सुरु भयो भने मधेशमा पनि केही दिनमा आइपुग्नेछ।

किसान मुस्कानसाथ भन्ने गर्छन् । अब त सरकारले अर्को दुःखबाट छुटकारा दिन लागेको हो । समयमै पानी नपरेको पीडामा अब ढिलो पानी हाल्नुपर्ने दुःख थपिँदैन। आकाश कालो देखिँदैछ। बादल गर्जिए, बिजुली चम्कियो। अब पानी पर्नेछ कि भन्ने अनुमान सबैलाई हुन्छ, मौसमविद् नहुदाँ पनि।

तर खेतमा सुक्न थालेको धान, भोकमरीको आहट, र प्रधानमन्त्रीका आश्वासन — यी तीन कुराले भुइँमान्छेको पीडा कम गर्न सक्दैनन्। उनीहरू थाकेर, घामको पसिना पुछ्दै फेरि घर फर्कन्छन्। किनकि सरकारबाट त आश्वासन मात्रै आउँछ, राहत कहिल्यै आउँदैन।

 

 

Next Post

मताधिकारबाट वञ्चित आप्रवासी नेपाली: कानुनी अभावले २६.५% नागरिकको आवाज गुमनाम

१३ श्रावण २०८२, मंगलवार १५:३१
सुर्खेत । कानुनी व्यवस्था नहुँदा आप्रवासीहरू र स्थायी ठेगाना बाहिर बसोबास गर्ने नेपाली नागरिक मतदानबाट वञ्चित भएको पाइएको छ। उनीहरूको मताधिकार सुनिश्चित गर्नका लागि कर्णाली प्रदेशको सुर्खेतमा छलफल गरिएको हो। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (IOM) को आयोजनामा र कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतको सहकार्यमा, आन्तरिक र बाह्य नेपाली आप्रवासीलाई मतदान अधिकार […]