सुर्खेत । पश्चिम तराईका थारु समुदाय आज विशेष श्रद्धा र उल्लाससहित अटवारी पर्व मनाउँदै छन्। कुसे औँसीपछिको पहिलो आइतबार मनाइने यो पर्व दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध, आशीर्वाद र सौभाग्यसँग गासिएको महत्वपूर्ण परम्परा मानिन्छ। अटवारी पर्वमा दाजुभाइहरूले दिदीबहिनीको दीर्घायु र सौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्ने चलन छ। शुक्रबार राति ‘दर’ खाएपछि शनिबार दिनभर व्रत बस्ने, साँझपख रोटी पकाएर दही, फलफूलसहित अग्नि देवतालाई चढाउने र त्यसपछि मात्र खाने परम्परा रहिआएको छ।
घोराही–१७ की थारु अगुवा सरस्वती चौधरीका अनुसार, अटवारी पर्व थारु समुदायका लागि हिन्दू महिलाहरूले मनाउने तीज पर्वजस्तै महत्त्वपूर्ण मानिन्छ। “यो पर्वमा दाजुभाइले आफ्ना दिदीबहिनीलाई विशेष परिकारसहित ‘अग्रासन’ छुट्याइ अर्पण गर्छन्,” उनले बताइन्। यो पर्व दुई दिनसम्म विशेष विधिपूर्वक मनाइन्छ। पहिलो दिन रोटीसहितका परिकार देवतालाई चढाइन्छ भने दोस्रो दिन बिहान भात र तरकारी पकाएर फेरि अग्रासन दिइन्छ। त्यसपछि मात्र परिवारले सामूहिक रूपमा भोजन गर्ने प्रचलन छ।
घोराही–३ का सुरज चौधरीका अनुसार, अन्तिम दिन दाजुभाइहरूले आफ्ना दिदीबहिनीका घरमा फलफूल, रोटी र अन्य परिकारसहित कोसेली लैजाने चलन छ। यसरी अटवारीले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास रहिआएको छ। अटवारी पर्वको उत्पत्तिबारे विभिन्न पौराणिक कथाहरू प्रचलित छन्। थारु संस्कृतिविद् अशोक चौधरीका अनुसार, यो पर्व सूर्यको उज्यालो र शक्ति प्रतीकका रूपमा पनि मनाइन्छ। महाभारतकालीन पृष्ठभूमिसँग पनि अटवारी जोडिएको छ। दाङका थार राजा दङ्गीशरण र पाँच पाण्डवबीच आत्मीय सम्बन्ध रहँदा शत्रुहरूले दङ्गीशरणमाथि आक्रमण गर्न खोजे। त्यतिबेला पाँच पाण्डवमध्ये भीमले भोकै पेट र पानी नखाई युद्धमा सहभागिता जनाउँदै राजा दङ्गीशरणलाई जोगाएका थिए। शत्रु परास्त भएपछि मनाइएको विजयोत्सव नै पछि अटवारी पर्वको रूपले प्रचलनमा आएको विश्वास गरिएको छ। त्यसयता थारु पुरुषहरूले भीमजस्तै शक्तिशाली बन्ने प्रतीकस्वरूप व्रत बस्ने परम्परा कायम छ।
अटवारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बाहुल्य रहेका जिल्लामा आज सार्वजनिक बिदा दिएको छ। दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा बिदा दिने निर्णय आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको हो।
अटवारी पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई थारु समुदायको सामाजिक सद्भाव, परिवारप्रतिको जिम्मेवारी र संस्कृतिको संरक्षणसँग जोडिएको पर्व हो। यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र आशीर्वादलाई अझै मजबुत बनाउने विश्वास गरिएको छ।