काठमाडौं। भदौ २३ र २४ गतेको जेन–जी नेतृत्वको आकस्मिक विद्रोहले सत्ताको बागडोर सम्हालिरहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूला संकटको मोडमा पुर्याएको छ। घटनापछि उनी अझै पनि सेनाको कडा सुरक्षा घेराभित्र सीमित छन्। तर, उनी कहिले खुलेर पार्टी गतिविधिमा फर्कन्छन् भन्ने विषयमा एमाले नेता–कार्यकर्ता नै अनिश्चित छन्।
पार्टी नेतृत्वसँग प्रत्यक्ष सम्पर्क हुन नसक्दा संगठनभित्रको मनोबल उल्लेख्य मात्रामा खस्किएको छ। केन्द्रीय कार्यालयदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्मका पार्टी संरचनामा विद्रोही समूहको आक्रमणले ठूलो क्षति पुगेको छ। पार्टीका कार्यालयहरू जलाइएका छन्, वडाध्यक्षदेखि सांसदसम्मका घर–परिवार आक्रमणमा परेका छन्। आफ्नै भग्नावशेषबीच उभिएका नेता–कार्यकर्ताले अहिले आफूलाई ‘अभिभावकविहीन’ अवस्थामा पाएका छन्।
यद्यपि महासचिव शंकर पोखरेलले आइतबारदेखि नै ‘भर्चुअल संवाद’ अभियान थालेका छन्। उनले प्रदेश र जिल्ला तहका अध्यक्षसँग सम्पर्क गर्दै कार्यकर्तालाई ढाडस दिन थालेका छन्। पोखरेलले कार्यकर्तालाई आफ्नो क्षति तुरून्तै हटाउनेभन्दा पहिले सरकारी अभिलेखमा प्रमाणिकरण हुने गरी मुचुल्का उठाउन आग्रह गरेका छन्। साथै, अहिलेको असहज परिस्थितिमा नेतृत्वमाथि आलोचना नगरी धैर्यपूर्वक संगठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
तर अर्कोतर्फ, ओली पक्षकै केही नेताले ‘नेतृत्व फेरबदल’को प्रश्न अब टार्न नसकिने भन्दै खुलेआम बहस सुरु गरेका छन्। एक वरिष्ठ नेता भन्छन्, “अब तयार हुनैपर्छ, परिस्थितिले नयाँ विकल्प खोज्न बाध्य पारेको छ।”
जेन–जी विद्रोहको तातोपन अझै नओइलाएको बेला गरिएको दर्जनभन्दा बढी एमाले नेता–कार्यकर्तासँगको कुराकानीले देखाउँछ—पार्टीभित्र अब केवल ‘पुनर्निर्माण’को मात्र नभई ‘पुनःनेतृत्व’को आवश्यकता बारे चर्को बहस आरम्भ भइसकेको छ।







