कर्णालीमा तीन मन्त्री नियुक्त, नवनियुक्त मन्त्रीद्वारा सहिद पार्कमा श्रद्धाञ्जली

  ।   ११ भाद्र २०८३, बिहीबार १५:३७

सुर्खेत । कर्णाली प्रदेश सरकारमा तीन जना नयाँ मन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।

नवनियुक्तमध्ये रुकुम पश्चिमबाट दुई जना मन्त्री बनेका छन्। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कल्याणी खड्का नियुक्त हुनुभएको हो। यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जुम्कित लामा नियुक्त हुनुभएको छ।

तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सरकारमा सहभागी हुनुभएको हो। उहाँहरू सबै समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बन्नुभएको बताइएको छ। मिलन खड्का तत्कालीन नेकपा माओवादी केन्द्रबाट र कल्याणी खड्का तत्कालीन नेकपा एकीकृत समाजवादीबाट समानुपातिक सांसद बन्नुभएको थियो। हाल दुवै जना नेकपाका सांसद हुनुहुन्छ।

यसअघि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका लागि विन्दमान विष्टको नाम फाइनल भएको थियो। तर उक्त मन्त्रालयमा तत्कालीन समाजवादी कोटाबाट मन्त्री बनाउनुपर्ने विषयमा पार्टीभित्र विवाद उत्पन्न भएपछि अन्ततः सोही कोटाकी सांसद कल्याणी खड्कालाई मन्त्री बनाइएको हो।

मन्त्री छनोटमा भएको आन्तरिक विवादका कारण मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको थियो। मुख्यमन्त्री मंगलबहादुर शाहीले सरकार गठन भएको झन्डै एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सहिद पार्कमा श्रद्धाञ्जली

पदभार ग्रहण गरेपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कित लामा सहिद पार्क पुग्नुभएको छ।

मन्त्रीद्वयले सहिद पार्कमा सहिदहरूको स्मृतिमा माल्यार्पण गर्दै राष्ट्र र जनताको हितका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।

श्रद्धाञ्जलीका क्रममा मन्त्रीद्वयले सहिदहरूको त्याग, बलिदान र योगदानलाई स्मरण गर्दै जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।

श्रद्धाञ्जली कार्यक्रमपछि मन्त्रीद्वय सम्बन्धित मन्त्रालयमा पुगेर पदभार ग्रहण तथा मन्त्रालयको कामकारबाही अघि बढाउनुभएको छ। नयाँ जिम्मेवारीसँगै विकास निर्माण, पर्यटन प्रवर्द्धन, कृषि क्षेत्रको सुदृढीकरण तथा प्रदेशको आर्थिक र सामाजिक विकासमा परिणाममुखी काम हुने अपेक्षा गरिएको छ।

Next Post

मन्त्री खड्काको पहिलो निर्णय : घर–गोठका लागि काठ ओसारपसार सहज बनाउने

११ भाद्र २०८३, बिहीबार १५:३७
सुर्खेत । कर्णाली प्रदेशकी नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले पदभार ग्रहणलगत्तै आफ्नो पहिलो निर्णयका रूपमा घर तथा गोठ निर्माणका लागि आवश्यक काठको ओसारपसारसम्बन्धी मापदण्ड निर्माण प्रक्रिया अघि बढाउनुभएको छ। मन्त्री खड्काले निर्णयपत्रमा हस्ताक्षर गर्दै यससम्बन्धी आवश्यक मापदण्ड तयार पार्न समिति गठन गर्ने निर्णय गर्नुभएको हो। प्रदेश […]

सम्बन्धित शीर्षक