कालीकोट। कर्णाली प्रदेशको कालीकोटस्थित पचाल झरनाले नेपालकै सबैभन्दा अग्लो झरनाको आधिकारिक मान्यता पाएसँगै कर्णालीको पर्यटन क्षेत्रमा नयाँ आशा जागेको छ। प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र भौगोलिक विशिष्टता बोकेको यस झरना अब राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पर्यटन बजारमा समेत पहिचान स्थापित गर्ने चरणमा पुगेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका एक सय प्रमुख पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गर्दा पचाल झरनालाई ६४औँ स्थानमा समावेश गरेको छ। नेपाल पर्यटन बोर्डले पनि ३८१ मिटर उचाइ कायम भएको वैज्ञानिक मापनका आधारमा पचाल झरनालाई नेपालकै सबैभन्दा अग्लो झरनाका रूपमा अभिलेखीकरण गरेको जनाएको छ।
यसअघि तेह्रथुमको ह्यातुङ झरना ३६५ मिटर उचाइसहित नेपालकै अग्लो झरना मानिँदै आएको थियो। पछिल्लो प्राविधिक मापनले पचाल झरना ह्यातुङभन्दा १६ मिटर अग्लो रहेको पुष्टि गरेको छ। प्रारम्भिक स्थानीय अध्ययनमा झरनाको उचाइ ४१५ मिटर उल्लेख गरिए पनि पछिल्लो वैज्ञानिक पुनःमापनमा बीचको चट्टानी भागलाई निरन्तर जलप्रपातको भाग नमानेपछि ३८१ मिटरलाई आधिकारिक उचाइ निर्धारण गरिएको हो।
समुद्री सतहबाट करिब ९७० मिटरको उचाइमा रहेको पचाल झरनाको मुहान धार्मिक आस्थाको केन्द्र मानिने चुलिमालिक क्षेत्रको फेदीमा पर्दछ। खाँडाचक्र नगरपालिका र पचालझरना गाउँपालिकाको सीमामा अवस्थित यो झरना पचालझरना गाउँपालिका–४ मा मुख्य रूपमा खस्ने गर्दछ। झरनाबाट बगेको पानी करिब १० किलोमिटर यात्रा तय गर्दै कर्णाली नदीमा मिसिन्छ, जसले यस क्षेत्रको प्राकृतिक जलप्रणालीलाई थप आकर्षक बनाएको छ।
स्थानीय जनप्रतिनिधिका अनुसार वैज्ञानिक मापन, भौगोलिक विवरण र आवश्यक प्राविधिक दस्तावेज नेपाल पर्यटन बोर्डमा पठाइएपछि राष्ट्रिय मान्यता प्राप्त गर्न सहज भएको हो। अहिले गाउँपालिकाले झरनालाई कर्णाली कोरिडोरसँग जोडेर धार्मिक, प्राकृतिक तथा साहसिक पर्यटनको एकीकृत गन्तव्यका रूपमा विकास गर्ने रणनीति अघि सारेको जनाएको छ।
यद्यपि राष्ट्रिय पहिचान स्थापित भए पनि पचाल झरनाको वास्तविक सम्भावना अझै पर्याप्त रूपमा उपयोग हुन सकेको छैन। झरनासम्म पुग्ने सडक वर्षायाममा अवरुद्ध हुने, पदमार्ग, विश्रामस्थल, सूचना केन्द्र, खानेपानी, शौचालय तथा सुरक्षाका आधारभूत संरचनाको अभावका कारण पर्यटकले सहज भ्रमण गर्न कठिनाइ भोगिरहेका छन्। स्थानीयवासीका अनुसार पूर्वाधार विकासमा ढिलाइ हुँदा झरनाले अपेक्षित संख्यामा पर्यटक आकर्षित गर्न सकेको छैन।
पर्यटन प्रवर्द्धनलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयासस्वरूप नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० को सहकार्यमा झरनासम्बन्धी जानकारी उपलब्ध गराउने क्यूआर कोड प्रणाली सञ्चालनमा ल्याइएको छ। यसमार्फत पर्यटकले झरनाको उचाइ, भौगोलिक अवस्थिति, पहुँचमार्ग तथा अन्य आवश्यक सूचना मोबाइलमार्फत सहजै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
पर्यटन व्यवसायीहरूको भनाइमा पचाल झरना केवल एउटा प्राकृतिक सम्पदा मात्र होइन, कर्णालीको आर्थिक रूपान्तरणको आधार बन्न सक्ने सम्भावना बोकेको गन्तव्य हो। भारत हुँदै कैलाश–मानसरोवर जाने धार्मिक पर्यटक, आन्तरिक पर्यटक तथा साहसिक पर्यटनका पारखीलाई लक्षित गरी व्यवस्थित पूर्वाधार, सुरक्षित पहुँच, अन्तर्राष्ट्रियस्तरको प्रचारप्रसार र निजी क्षेत्रको लगानी आकर्षित गर्न सके कालीकोटको पर्यटन अर्थतन्त्रमा उल्लेखनीय परिवर्तन आउन सक्ने विश्वास गरिएको छ।
स्थानीय सरोकारवालाले संरक्षण र विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार पचाल झरनाको प्राकृतिक स्वरूप जोगाउँदै आवश्यक पूर्वाधार निर्माण गर्न सके यसले कर्णाली प्रदेशलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्नेछ।






