मानवअधिकार संरक्षणमा युवा मानवअधिकार रक्षक सञ्जाल सुदृढ गर्न जोड

  ।   ८ श्रावण २०८३, शुक्रबार १८:४३

दैलेख ।  मानवअधिकारको प्रभावकारी प्रवर्द्धन र संरक्षणका लागि नागरिक समाज, सञ्चारमाध्यम, स्थानीय सरकार, कानुनी क्षेत्र तथा युवाबीच बलियो सहकार्य, नियमित समन्वय र साझा प्रतिबद्धता अपरिहार्य रहेको सरोकारवालाहरूले औँल्याएका छन्।

ग्रामीणमुखी युवा अभियान नेपाल (ROYAM NEPAL) को आयोजनामा शुक्रबार दैलेखको नारायण नगरपालिका–१ मा सम्पन्न ‘युवा मानवअधिकार रक्षकका सवालमा सरोकारवालासँग समन्वयात्मक छलफल कार्यक्रम’ मा सहभागीहरूले मानवअधिकार संरक्षणलाई अभियानका रूपमा अघि बढाउन युवा मानवअधिकार रक्षक  को भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा गैरसरकारी संस्था, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य महासंघ, नागरिक समाज, मानवअधिकारकर्मी तथा युवा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। छलफलमा मानवअधिकार रक्षकहरूको सुरक्षा, क्षमता विकास, दिगोपना, डिजिटल सुरक्षा, मानसिक स्वास्थ्य तथा संस्थागत समन्वयका विषयमा विस्तृत बहस भएको थियो।

युवा मानवअधिकार रक्षकको भूमिकामाथि प्रस्तुतीकरण

कार्यक्रममा ROYM NEPAL का कर्णाली प्रदेश संयोजक सन्तोष वि.क. ले ‘युवा मानवअधिकार रक्षकको प्रवर्द्धन र संरक्षणका लागि एक्यबद्धता’ विषयमा प्रस्तुतीकरण गर्दै मानवअधिकार रक्षकहरूको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका चुनौती, सुरक्षा संयन्त्र, क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायबीच सहकार्य विस्तारका आवश्यकतामाथि प्रकाश पारे।

उनले मानवअधिकारका सवाललाई समुदायदेखि नीति निर्माण तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।

 डिजिटल सुरक्षा, मानसिक स्वास्थ्यदेखि सामाजिक विकृतिसम्म बहस

छलफलमा सहभागीहरूले पछिल्लो समय युवाले सामना गरिरहेका विविध मानवअधिकारसम्बन्धी चुनौतीहरूलाई प्राथमिकताका साथ उठाएका थिए। डिजिटल सुरक्षा, मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य, आत्महत्या रोकथाम, बालविवाह, बलात्कार, खाद्य गुणस्तर, युवा नीति, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, वैदेशिक रोजगारीमा हुने शोषण, लागूऔषध दुव्र्यसन तथा घरेलु हिंसाजस्ता विषयमा युवा मानवअधिकार रक्षकहरूले सशक्त आवाज उठाउनुपर्ने उनीहरूको धारणा थियो।

सहभागीहरूले राज्यका निकायलाई थप जिम्मेवार र जवाफदेही बनाउन नागरिक समाज, सञ्चारमाध्यम र मानवअधिकार रक्षकहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए।

नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता आवश्यक

मानवअधिकारका मुद्दालाई नीति निर्माण तहसम्म पुर्‍याएर प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नियमित समन्वय, सहकार्य र साझा कार्ययोजना आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

सहभागीहरूले युवा मानवअधिकार रक्षकहरूलाई भविष्यका नेतृत्वकर्ता भएको उल्लेख गर्दै उनीहरूको क्षमता विकास, नीति निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता तथा सकारात्मक अभ्यासलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमभन्दा परिणाम महत्वपूर्ण’

नेपाल पत्रकार महासंघ दैलेखकी पत्रकार मालती केसी ले विगतमा सञ्चालन गरिएका कार्यक्रमहरूको वास्तविक उपलब्धि र प्रभावको निष्पक्ष मूल्याङ्कन हुनुपर्ने बताइन्।

उनले केवल कार्यक्रम सम्पन्न गर्नु मात्र उपलब्धि नभई त्यसबाट समुदायमा देखिएको परिवर्तन नै सफलता हुने उल्लेख गर्दै डिजिटल युगमा मानवअधिकारका विषयलाई तथ्य, प्रमाण र जिम्मेवार पत्रकारिताका आधारमा सार्वजनिक गर्न सञ्चारमाध्यमको भूमिका झन् महत्वपूर्ण भएको धारणा राखिन्।

दिगो नेटवर्क र साझा अभियान सञ्चालन गर्ने निष्कर्ष

कार्यक्रमले ROYM-NEPAL द्वारा गठन गरिएका युवा मानवअधिकार रक्षक सञ्जाल र नागरिक समाज संगठन CSOs बीच नियमित समन्वय, दिगो नेटवर्क निर्माण, डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग तथा साझा कार्ययोजनाको कार्यान्वयनलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ।

सहभागीहरूले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म मानवअधिकार संरक्षण र प्रवर्द्धनका लागि नागरिक समाज, सञ्चारमाध्यम, स्थानीय सरकार तथा युवाबीच निरन्तर सहकार्य, समन्वय र साझा अभियान सञ्चालन गर्नु वर्तमान आवश्यकता भएको निष्कर्षसमेत व्यक्त गरेका छन्।