जुम्ला/ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रेडियोलोजी डाक्टरको अभावका कारण दुई सातादेखि भिडियो एक्सरे सेवा पूर्ण रूपमा बन्द भएको छ। डाक्टरको अनुपस्थितिले नियमित उपचार प्रक्रियामा बाधा पुगेको छ भने बिरामीहरू अत्यन्तै समस्यामा परेका छन्।
प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. डब्बबहादुर धामीका अनुसार, सेवा दिने रेडियोलोजी विशेषज्ञ बिना कुनै जानकारी दुई हप्ता अघिदेखि सम्पर्कविहीन छन्। हामी वैकल्पिक डाक्टरको खोजीमा छौं, डा. धामीले भने, अति आवश्यक अवस्थामा केही बिरामीलाई मात्र सेवा दिइएको छ, तर सबैलाई सम्भव भएको छैन।
गुठिचौर–५ देपालगाउँका नन्दराम नेपाली आफ्नो छोराको पेट दुखेको समस्या लिएर प्रतिष्ठान आएका थिए। तर भिडियो एक्सरे सेवा उपलब्ध नभएको कारण रोग पहिचान नै हुन सकेन। छोराको पेट दुखिरहेको थियो, तर एक्सरे नभएपछि ठ्याक्कै समस्या के हो भनेर थाहा हुन सकेन, उनले गुनासो गरे।
प्रतिष्ठानमा दैनिक दर्जनौँ बिरामी आउँछन्। हड्डी, आन्तरिक अंग तथा अन्य स्वास्थ्य समस्याको पहिचानका लागि भिडियो एक्सरे अनिवार्य हुन्छ। तर, आवश्यक जनशक्ति नहुँदा सेवा ठप्प हुँदा आम नागरिकले सास्ती भोगिरहेका छन्।
स्थानीयवासी र बिरामी परिवारहरूले तत्काल विशेषज्ञ डाक्टरको व्यवस्था गरी सेवा पुनः सुचारु गर्न आग्रह गरेका छन्।







