अपडेट

गुर्भाकोटबाट एकै परिवारका तीन जना हराए, नदीमा डुबेको आशङ्का

  ।   २ चैत्र २०८२, सोमबार १४:५८

सुर्खेत । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–१२ पिप्लेबाट एकै परिवारका तीन जना सदस्य हराएको घटनाले स्थानीय क्षेत्रमा चिन्ता बढाएको छ। आइतबार बिहान घरबाट निस्किएका आमा र उनका दुई साना छोराछोरी साँझसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी गराएको हो।

प्राप्त विवरणअनुसार ३८ वर्षीया माया कठायत, उनकी ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षीय छोरा दिपक कठायत चैत १ गते बिहान करिब ७ बजेतिर घरबाट बाहिरिएका थिए। उनीहरू लामो समयसम्म सम्पर्कमा नआएपछि मायाका श्रीमान् ३७ वर्षीय भूपेन्द्र कठायतले बेलुका करिब ६ बजे प्रहरी चौकी गुमीमा खबर गरेका थिए।

खबर प्राप्त भएपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। वडा अध्यक्ष तथा स्थानीय बासिन्दाको सहयोगमा बेपत्ताहरूको खोजी कार्य तत्काल सुरु गरिएको प्रहरीले जनाएको छ।

खोजी गर्ने क्रममा उनीहरू घरबाट करिब तीन किलोमिटर टाढा रहेको भेरी नदीको किनारमा पुगेको आशङ्का गरिएको छ। त्यहाँबाट मायाले बोकेको झोला, सल, चप्पल र एक थान मोबाइल फोन फेला परेको प्रहरीले जनाएको छ। नदी किनारमै सामान भेटिएपछि उनीहरू नदीमा खसेको वा डुबेको हुनसक्ने आशङ्का बढेको छ।

हाल इलाका प्रहरी कार्यालय र मातहतका विभिन्न प्रहरी चौकीबाट खटिएका करिब ३५ जना प्रहरी, स्थानीय जनप्रतिनिधि र बासिन्दाहरू मिलेर भेरी नदी आसपासका क्षेत्रहरूमा व्यापक खोजतलास गरिरहेका छन्। नदी किनार, झाडी तथा आसपासका बस्तीहरूमा समेत निगरानी बढाइएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, बेपत्ता व्यक्तिहरूबारे कुनै जानकारी प्राप्त भएमा वा कतै फेला परेमा नजिकको प्रहरी कार्यालयमा तत्काल खबर गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

Next Post

करेन्ट लागेर एक जनाको मृत्यु

२ चैत्र २०८२, सोमबार १४:५८
कालीकोट । कालीकोट जिल्लामा विद्युत् करेन्ट लागेर एक जनाको ज्यान गएको छ। जिल्लाको रास्कोट नगरपालिका–८ बाँखरकोटका करिब ५० वर्षीय मन वरालको करेन्ट लागेर मृत्यु भएको हो। स्थानीयका अनुसार वराल सोमबार बिहान डिलचाखा नामक वन क्षेत्रमा बाख्रा चराउन गएका थिए। सोही क्रममा जमिनमा झरेको वा लत्रिएको विद्युत् तार शरीरमा छोइएपछि उनलाई […]