कालिकोट । नेकपा (एमाले) कालिकोटका जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा निर्वाचनमा कालिकोटबाट उम्मेदवार बनेर पराजित भएका नगिन्द्र शाही ‘नेशनल’ले जिल्ला सदरमुकाम मान्मा बजारको मुख्य सडक लामो समयदेखि अवरुद्ध रहेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै मान्मा बजारको मुख्य सडक विगत करिब छ महिनादेखि अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको बताएका छन्।
उनका अनुसार खाँडाचक्र नगरपालिकाको प्रशासनिक भवन निर्माणका क्रममा खनिएको खाल्डोका कारण सडक पटक–पटक भत्किँदै गएको र अहिले पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा सडक मात्र नभई आसपासको बस्तीसमेत जोखिममा परेको शाहीको भनाइ छ।
उक्त सडक जिल्ला प्रशासन कार्यालय, प्रहरी, अदालत, नापी, मालपोतलगायत अत्यावश्यक सरकारी कार्यालय तथा विद्यालयमा दैनिक आवतजावत गर्ने प्रमुख मार्ग हो। लामो समयदेखि सडक सञ्चालनमा नआउँदा नागरिकको आवागमनसँगै सरकारी सेवा–प्रवाहसमेत प्रभावित भएको उनले उल्लेख गरेका छन्।
‘विकासका नाममा नागरिकले सास्ती होइन, सहज सेवा, सुरक्षित र निरन्तर आवागमन पाउनुपर्छ,’ शाहीले प्रधानमन्त्रीसमक्ष गरेको ध्यानाकर्षणमा उल्लेख गरेका छन्।
जिल्लाका अत्यावश्यक विषयमा प्रत्यक्ष भेटेर ध्यानाकर्षण गराउने प्रयास सफल हुन नसकेपछि जनताको समस्या सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसमक्ष पुर्याउन बाध्य भएको शाहीको भनाइ छ।
उनले सडक तत्काल सञ्चालन हुने गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन प्रधानमन्त्रीसँग माग गरेका छन्। साथै ध्यानाकर्षण पत्र मुख्यमन्त्रीको कार्यालय कर्णाली प्रदेश सरकार र भौतिक पूर्वाधार मन्त्रालयलाई समेत बोधार्थ पठाइएको छ।
शाही कालिकोटको राजनीतिमा सक्रिय एमाले नेता हुन्। उनी अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कालिकोटबाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए। अहिले एमाले कालिकोटको जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका शाहीले जिल्लाका विकास निर्माण तथा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।







