शिर्षक  झोलाहरु बुइ चढेर जान्छन्

  ।   ११ चैत्र २०८२, बुधबार २१:१९

प्रायः
घरीघरी आउनेहरू,
धोका हुन्, बेइमान हुन्—
आफ्नाहरू त
कहिले सुखमा आउँछन्,
कहिले दुःखमा आउँछन्।

धोका र बेइमान जसरी
हरबखत फर्किँदैनन्,
खुसीमा जलेर खरानी हुन्छन्,
दुःखमा चन्द्रमाझैँ उज्याला हुन्छन्।

आगमनमा खुसी बसेको
पटक्कै देख्न मन गर्दैनन्,
धुरीमा चराहरू बसेको
सुन्न पनि सक्दैनन्।

पारी वनको चाक्लो आँतले
कोदो फलाइरहन्छ,
त्यो उसैको हिँड्ने बाटो
नजिकै पर्छ।

गहिरो खेतले धानका बाला
हल्लाइरहँदा पनि,
प्रिय बेइमान र धोका—
हेर्न मन लाग्दैन।

धारोले पानी भरिएको,
झोलाहरू बुइ चढेर
स्कुल गएको—
भलो मान्दैनन्।

ए प्रिय बेइमान,
अब झोलाहरू बुइ चढेर
स्कुल पुगिरहन्छन्।
पारी वनको चाक्लो आँतले
कोदो फलाइरहन्छ,
गहिरो खेतले धानका बाला
खेलाइरहन्छ।

घामले बिस्कुन सुकाइरहन्छ,
चराहरू पनि घरको धुरीमा
बसिरहन्छन्।

प्रिय धोका,
कति हाँस्नु छ—हाँस है।
ए बेइमान,
खुसी हुनुछ भने बेस्सरी हौ।

मेरा बचपनका सखा,
बेस्सरी हाँस—
बेइमान र धोका जसरी।।

✍️दीर्घ बहादुर शाही (डोक्काघरे)

Next Post

इन्धनमा फेरि भारी वृद्धि : प्रतिलिटर १५ रुपैयाँले महँगियो पेट्रोलियम पदार्थ

११ चैत्र २०८२, बुधबार २१:१९
काठमाडौं । नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ, जसले सर्वसाधारणदेखि उद्योग व्यवसायसम्मलाई थप मार पर्ने देखिएको छ। नेपाल आयल निगम ले इन्धनको आपूर्ति व्यवस्थापनमा समस्या आउन सक्ने चेतावनी दिँदै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको जनाएको छ। नयाँ मूल्य बिहीबार बिहान १२:०१ बजेदेखि लागू हुने […]

सम्बन्धित शीर्षक