रामग्राम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले युवाको ऊर्जा, क्षमता र अनुभवलाई सही ढंगले परिचालन गर्न सके नेपाललाई समृद्ध र आत्मनिर्भर राष्ट्रका रूपमा अघि बढाउन सकिने बताएकी छन्।

नेपाल जेसीस क्षेत्र ‘घ’ सम्मेलन–२०२६ को उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै वलीले देशको आर्थिक संरचनालाई उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताइन्।
उनले युवाको क्षमता, सिर्जनशीलता र स्वतन्त्र सोचलाई राष्ट्र निर्माणसँग जोड्नुपर्नेमा जोड दिँदै भनिन्, “आजको हाम्रो मुख्य लक्ष्य उपभोगमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्रमा लैजानु हो। यसका लागि युवाको स्वतन्त्र सोच, ऊर्जा र क्षमतालाई सही रूपमा उपयोग गर्नुपर्छ।”
नेपालमा प्रतिभाशाली, सूचनामा पहुँच भएका र सचेत युवाको ठूलो समूह रहेको उल्लेख गर्दै उनले त्यस्ता युवालाई नीति निर्माण, सामाजिक अभियान र राष्ट्र निर्माणका काममा जोड्नुपर्ने बताइन्। विभिन्न राजनीतिक दल र विचारधारामा आबद्ध भए पनि देशको हितका लागि साझा उद्देश्यमा एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
“हामी विभिन्न राजनीतिक दलमा हुन सक्छौँ, हाम्रा विचार फरक हुन सक्छन्स तर केन्द्रमा देश हुनुपर्छ। विचार फरक भए पनि राष्ट्रको हितका लागि हामी सधैँ एकजुट भएर उभिनुपर्छ,” वलीले भनिन्।
उनले नेपालमा स्रोत, सीप, पूँजी र अवसरको सम्भावना पर्याप्त भए पनि त्यसलाई उत्पादन र परिणाममा रूपान्तरण गर्न आवश्यक वातावरण निर्माण हुन नसकेको बताइन्। सिंगापुर, रुवान्डा, भुटानलगायत देशको उदाहरण दिँदै उनले ती राष्ट्रको विकास केवल प्राकृतिक स्रोतका कारण नभई नीति, सुशासन, इमानदारी र संस्थागत सुधारका कारण सम्भव भएको बताइन्।
नेपालमा सडकदेखि सदनसम्म, कानुन निर्माणदेखि सार्वजनिक संस्थासम्म सुधारको आवश्यकता रहेको उनको भनाइ थियो। देश निर्माणका लागि राजनीतिक नेतृत्व, प्रशासन, निजी क्षेत्र तथा सामाजिक संस्थाहरू सबैले आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने उनले बताइन्।
ओलीले इमानदारीलाई राष्ट्र निर्माणको आधारभूत मूल्यका रूपमा स्थापित गर्नुपर्नेमा विशेष जोड दिइन्। नेतृत्वमा क्षमता भएर मात्रै नपुग्ने भन्दै इमानदारी, नैतिकता र जिम्मेवारीबोध कमजोर भए त्यसले समाज र राज्य दुवैलाई गम्भीर असर पार्ने उनको भनाइ थियो।
“क्षमता भएर मात्रै हुँदैन, नेतृत्वमा इमानदारी छैन भने त्यो सबैभन्दा खतरनाक कुरा हो,” उनले भनिन्, “त्यसैले समाजमा इमानदारीको भाष्यलाई स्थापित गर्न र युवाको सम्भावनालाई सही ढंगले उपयोग गर्न आवश्यक छ।”
नेपाल जेसीसजस्ता संस्थाले युवामा नेतृत्व क्षमता विकास, शिक्षा, सामाजिक उत्तरदायित्व र सकारात्मक सोच निर्माणका लागि महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै उनले यस्ता संस्थाले युवाको सम्भावनालाई राष्ट्र निर्माणमा जोड्न अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन्।
उनले युवा र अनुभवी पुस्ताबीचको सहकार्यलाई आजको आवश्यकता भएको बताइन्। युवासँग ऊर्जा, जोस र नयाँ सोच भए पनि अनुभवी पुस्तासँग संस्थागत ज्ञान र व्यवहारिक अनुभव हुने भएकाले दुवै पक्षको समिश्रणबाट मात्रै प्रभावकारी नेतृत्व निर्माण हुने उनको भनाइ थियो।
“युवासँग जोस र ऊर्जा छ भने अनुभवसँग संस्थागत ज्ञान र राज्य सञ्चालनको अनुभव हुन्छ। त्यसैले राज्य सञ्चालनदेखि निजी क्षेत्र, सामाजिक संस्था र हरेक संगठनमा युवा र अनुभवको समिश्रण आवश्यक छ,” ओलीले भनिन्।
आफू नेपाल जेसीस क्षेत्र ‘घ’ सम्मेलनमा सहभागी हुन पाउँदा विशेष खुसी लागेको बताउँदै उनले आफ्नो राजनीतिक गुरु तथा पूर्वप्रधानमन्त्रीसँग जोडिएको क्षेत्र भएकाले कार्यक्रम आफ्नो लागि थप विशेष बनेको उल्लेख गरिन्।
सम्मेलनको अवसरमा जेसीससँग आफ्नो विशेष सम्बन्ध रहेको बताउँदै वलीले आगामी दिनमा जेसीससँग सहकार्य र समन्वयको आवश्यकता परे आफू सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरिन्।
उनले सम्मेलनलाई केवल एकदिने भेटघाट र औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी निरन्तर संवाद, सहकार्य र साझा अभियानको आधार बनाउनुपर्नेमा जोड दिइन्।
सम्बोधनको अन्त्यमा उनले राजनीतिक विचार र दल फरक भए पनि राष्ट्रहितलाई सर्वोच्च प्राथमिकतामा राखेर सबै एकजुट हुनुपर्ने बताइन्।
“हामी जुन पार्टीमा भए पनि, जुन पक्षमा भए पनि केन्द्रमा देश हुनुपर्छ। विचार फरक भए पनि राष्ट्रको हितमा हामी एकजुट हुनुपर्छ। देश बनाउने जिम्मेवारी हामी सबैको हो,” ओलीले भनिन्।
नेपाल जेसीस क्षेत्र ‘घ’ सम्मेलन–२०२६ मा प्रमुख अतिथिका रूपमा सहभागी भएकी ओलीले सम्मेलनको सफलताको शुभकामना दिँदै युवाको नेतृत्व, इमानदारी, उत्पादनमुखी अर्थतन्त्र र राष्ट्र निर्माणमा सक्रिय सहभागिताका लागि जेसीसलाई निरन्तर भूमिका खेल्न आग्रह गरिन्।







