भूकम्पले विद्यालय भवन चर्किएकाले परीक्षा खुला चौरमा सञ्चालन

  ।   ९ पुष २०८१, मंगलवार १८:१३

रुकुमपश्चिम । भूकम्पले चर्किएका भवनमै रुकुमपश्चिममा पठनपाठन हुने गरेको छ । विद्यालय भवन निर्माण हुन नसकेको र अस्थायी सिकाइ केन्द्रमा अत्यधिक चिसो हुने भएकाले जोखिमपूर्ण अवस्थाका कक्षाकोठामै पठनपाठन हुने गरेको हो ।

अहिले दोस्रो त्रैमासिक परीक्षा खुला चौरमा परीक्षा सञ्चालन हुने गरेको छ ।अघिल्लो वर्षको कात्तिकमा गएको भूकम्पले भवन क्षति गरेका अधिकांश विद्यालयका बालबालिका चर्किएको कोठामा पढ्ने गरेका छन् भने परीक्षालगायत अन्य गतिविधि खुला चौरमा हुने गरेको छ । आठबिसकोट नगरपालिका–९ स्थित कालिका माध्यमिक विद्यालय सुन्दरपानीमा अहिले दोस्रो त्रैमासिक परीक्षा चलिरहेको छ । विद्यालयका शिक्षक कविराम बुढाथोकीले खुला चौरमा लहरै विद्यार्थी राखेर परीक्षा सञ्चालन गरेको बताउनु भयो । भूकम्पले यस विद्यालयका पाँच वटा भवनमा क्षति गरेको थियो भने पक्की भनिएको कार्यालय भवन पनि चर्किएको छ ।

तत्कालीन अवस्थामा पाँच वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सञ्चालन गरिए पनि हिउँदको चिसो, वर्षाको झरी र हावाहुरीले प्रभावकारी रूपमा पठनपाठन हुन सकेको छैन । परीक्षा सञ्चालनका लागि पर्याप्त कोठा नभएकाले खुला चौरमा राखेर परीक्षा गराउनु परेको उहाँले जानकारी दिनुभयो । शिक्षक बुढाथोकीका अनुसार चिसो मौसममा घामको न्यानो पनि हुने भएकाले विद्यालयको खुला चौर परीक्षा केन्द्र बनेको छ । उहाँले कक्षाकोठाकै अभावका कारण कक्षा ११ र १२ को पठनपाठन नियमित गर्न नसकिएको बताउनु भयो ।

सानीभेरी गाउँपालिका–२ मा रहेको भेरी दोभान माध्यमिक विद्यालयमा पनि चर्किएकै भवनमा पठनपाठन हुने गरेको छ । यहाँका विद्यार्थीले कक्षामा ढुक्कले बसेर पढ्ने अवस्था नरहेको बताउने गरेका छन् । विद्यालयमा प्रधानाध्यापक भूपेन्द्र ओलीले भूकम्पका कारण विद्यालयका सबै भवन र कक्षाकोठा क्षति पुगेको बताउनु भयो ।

विद्यालयमा कक्षाकोठा अभाव भएपछि कक्षा ८, १० र ११ लाई चर्किएकै भवनको कोठामा राखेर पठनपाठन गर्न बाध्य भएको प्रधानाध्यापक ओलीले बताउनु भयो  । आठबिसकोट नगरपालिका–१३ स्थित आदर्श मावि घेत्माका प्रधानाध्यापक तिलकनारायण मल्लले पनि कक्षा १, २ र ३ लाई चर्किएकै भवनमा राखेर पढाउनु परेको बताए । हिजोआज अधिकांश कक्षा खुलाचौरमै सञ्चालन हुने गरेको मल्लले जानकारि दिनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपश्चिमका प्रमुख ताराप्रकाश पुन मगरका अनुसार भूकम्प गएको वर्ष दिन पूरा हुँदा पनि भवन पुनर्निर्माण हुन सकेका छैनन् । उनका अनुसार भूकम्पका कारण जिल्लाभरका २८८ सामुदायिक विद्यालयमध्ये २६२ वटामा क्षति पुगेको छ । कार्यालयको तथ्याङ्क अनुसार ४९ विद्यालय पूर्ण क्षति र २१३ विद्यालयमा आंशिक क्षति भएको छ ।

एकाइ प्रमुख पुनका अनुसार चौरजहारी नगरपालिकाका तीन विद्यालयमा पूर्ण क्षति छ भने ३१ विद्यालयमा आंशिक क्षति छ । त्यसै गरी आठबिसकोट नगरपालिकाका १७ विद्यालय पूर्ण र ३७ मा आंशिक, मुसीकोट नगरपालिकाका चार विद्यालयमा पूर्ण र ४८ विद्यालयमा आंशिक क्षति भएको छ । सानीभेरी गाउँपालिकामा १८ विद्यालयमा पूर्ण क्षति र २३ मा आंशिक, त्रिवेणी गाउँपालिकाका चार विद्यालयमा पूर्ण र ३४ मा आंशिक र बाँफिकोट गाउँपालिकाका तीन विद्यालयमा पूर्ण र ४० विद्यालयमा आंशिक क्षति भएको विवरण शिक्षा विकास तथा समन्वय एकाइमा रहेको छ ।

 

Next Post

जुम्लाको सिंजा क्षेत्रमा संघियता कार्यान्वयनपछि नापी र मालपोत कार्यालय स्थापना

९ पुष २०८१, मंगलवार १८:१३
जुम्ला । जुम्लाको सिंजा क्षेत्रमा संघियता कार्यान्वयनपछि नापी र मालपोत कार्यालय स्थापना हुने भएको छ । संघियता कार्यान्वयनको करिब ७ वर्षपछि सिंजा क्षेत्रका तीन पालिका लाभान्वित हुनेगरी सिंजामा मालपोत कार्यालय स्थापना हुने टुंगो लागेको हो । सिंजामा नापी र मालपोत कार्यालय स्थापना गर्ने सरकारको निर्णयले ऐतिहासिक सिंजा क्षेत्रले आर्थिक र […]