युवा मानवअधिकार रक्षक : मतदानको अधिकार र कर्तव्य अध्यक्ष – पुजा दमाई

  ।   ११ फाल्गुन २०८२, सोमबार २१:१९

सुर्खेत । मानव अधिकार प्रत्येक व्यक्तिलाई केवल मानव भएकै आधारमा प्राप्त हुने जन्मसिद्ध, मौलिक तथा प्राकृतिक अधिकार हुन्। यी अधिकारहरू बिना कुनै भेदभाव सबैलाई समान रूपमा लागू हुन्छन् र व्यक्तिको जीवन, स्वतन्त्रता, समानता, सम्मान र सुरक्षाको प्रत्याभूति गर्छन्। लोकतान्त्रिक समाजमा मतदानको अधिकार पनि त्यही मौलिक अधिकारको हिस्सा हो।

राष्ट्रिय युवा नीति २०८२ र युवा सहभागिता

राष्ट्रिय युवा नीति २०८२ ले युवालाई राष्ट्र निर्माणको प्रमुख साझेदार र परिवर्तनका संवाहकका रूपमा परिभाषित गरेको छ। यस नीतिअनुसार १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा सार्थक सहभागिता सुनिश्चित गर्नुपर्ने उद्देश्य राखिएको छ।

नीतिअनुसार युवाले :

लोकतान्त्रिक प्रक्रियामा सक्रिय र जिम्मेवार सहभागिता जनाउनुपर्छ।

सुशासन, पारदर्शिता र उत्तरदायित्वको पक्षमा आवाज उठाउनुपर्छ।

कुनै पनि प्रकारको विभेद, हिंसा र भ्रष्टाचारविरुद्ध सचेत र संगठित हुनुपर्छ।

मतदान केवल अधिकार मात्र नभई राष्ट्रप्रति युवाको दायित्व पनि हो।

मतदानस् अधिकार मात्र होइन, कर्तव्य पनि

हाल नजिकिँदै गरेको निर्वाचनको अवसरमा युवाले आफ्नो विवेक प्रयोग गरी योग्य, इमानदार र जनउत्तरदायी उम्मेदवारलाई मात्र मतदान गर्नु आवश्यक छ। “हाम्रो” होइन, “राम्रो” नेतृत्वलाई चयन गर्ने संस्कार विकास गर्नु आजको आवश्यकता हो।

युवा मानवअधिकार रक्षकले विभिन्न लोभ, दबाब वा आकर्षणबाट प्रभावित नहुने गरी आफ्नो निर्णय सचेत र विवेकपूर्ण बनाउनुपर्छ। सही मतदानले मात्र विकास, समृद्धि र भ्रष्टाचारमुक्त समाजको निर्माण सम्भव हुन्छ।

युवा शक्तिको भूमिका

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा करिब ४२.५६५% प्रतिशत जनसंख्या युवा वर्गको हो। यो जनशक्ति राष्ट्र परिवर्तनको मेरुदण्ड हो।

युवाले आफ्नो प्रदेश, जिल्ला, पालिका, वडा तथा समुदायमा :

निर्वाचनको मर्यादामा नकारात्मक असर पार्ने गतिविधि देखिएमा आवाज उठाउने।

गलत उद्देश्यका लागि प्रयोग गरिएमा सचेत गराउने।

डर, धम्की वा प्रलोभनमार्फत मत प्रभावित गर्न खोजिएमा प्रतिवाद गर्ने।

झुटा आश्वासन र असत्य प्रचारमाथि प्रश्न उठाउने।

मतको मूल्य र मतदाता शिक्षा

“मेरो एउटा मतले के फरक पर्छरु” भन्ने सोच त्याग्न आवश्यक छ। इतिहासले देखाएको छ कि एउटै मतले परिणाम परिवर्तन गर्न सक्छ। एउटै मतले सही नेतृत्व चयन हुन सक्छ वा गलत नेतृत्व स्थापित हुन सक्छ।

यसैले युवाले आफू मात्र होइन, आफ्ना परिवार, छिमेकी र समुदायका सदस्यहरूलाई पनि मतदाता शिक्षा प्रदान गर्नु आवश्यक छ। लोकतन्त्रको सुदृढीकरणका लागि सचेत र सक्रिय नागरिक अपरिहार्य छन्।

युवा साथीहरू,
हामी कुनै पनि प्रकारको प्रलोभन, डर वा दबाबमा नपरी आफ्नो मतदान अधिकारको सही सदुपयोग गरौँ। राष्ट्रिय युवा नीति २०८२ ले परिकल्पना गरेको जिम्मेवार, सचेत र नेतृत्वदायी युवाको भूमिका निर्वाह गरौँ।

हाम्रो सचेत निर्णयले नै देशको भविष्य निर्धारण गर्छ। आजको सही मत—भोलिको समृद्ध नेपालको आधार हो।

— युवा मानवअधिकार रक्षक सन्जाल, सुर्खेत अध्यक्ष – पुजा दमाई

Next Post

फागुन २०–२२ सम्म तीन दिन सार्वजनिक बिदा

११ फाल्गुन २०८२, सोमबार २१:१९
काठमाडौं। नेपाल सरकार ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सम्पन्न गर्न बिदा आवश्यक रहेको निष्कर्ष निकालिएको सरकार स्रोतले […]