हुम्ला सिमकोटमा खानेपानीको समस्या

  ।   ९ माघ २०८१, बुधबार १९:२८

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका–५ र ६ मा खानेपानीको समस्या बढ्दै गएको छ । हिउँदमा हिमपात कम हुनु र भएको पानी जाडोले जम्ने गरेका कारण खानेपानीको समस्या बढ्दै गएको हो ।

सिमकोट तल्लो बजारकी शान्ति लामाले धारामा पानी आउन छोडेपछि छिमेकीको घरमा गएर लाइनमा बस्दै खानेपानीको व्यवस्था गर्नु परिरहेको बताएका छन् ।

उनको धारामा पानी आउनै छोडेको १५ दिन भइसकेको छ । सिमकोट खानेपानी उपभोक्ता समितिलाई खबर गर्दा स्रोत नै कम भएका कारण पानीको समस्या देखिएको र यो समस्या समाधान गर्न कठिन भएको जवाफ आउने गरेको उनले बताए । आफ्नो टोलमा एउटा मात्र घरको धारामा पानी आउने भएका कारण बिहानैबाट लाइनमा भाँडा राखेर पानीको व्यवस्था गर्नु परिरहेको छ । धारामा पानी आउन उक्त धारामा तातोपानी खन्याएर पानी झार्ने गरिएको छ ।

धारामा बिहान मात्र डेढ घण्टा पानी आउने गर्दछ । बेलुका पानी नआउने भएका कारण बिहान भरेकै पानीले व्यवस्था गर्नुपर्ने बाध्यता छ । यस्तै सञ्जु रोकायाले पनि पानीको समस्या भोग्नु परिरहेको बताए । खानेपानीकै व्यवस्था गर्न समस्या भएका कारण नुहाइधुवाइ र कपडा धुने काम त बन्दै गरिएको जानकारी उनले दिए ।

सिमकोट खानेपानी उपभोक्ता समितिका प्राविधिक रूपेन्द्र रोकायाले पानीको स्रोत सुक्नु, हिमपात कम हुनु र भएको पानी चिसोका कारण जम्ने भएका कारण सिमकोट बजारमा खानेपानीको समस्या देखिएको बताए । सिमकोटमा दैनिक १० लाख लिटर पानीको माग रहेको भए पनि हाल दैनिक पाँच लाख लिटर मात्र आपूर्ति भइरहेको छ । बिहान दुई लाख लिटर र बेलुका तीन लाख लिटर पानी आपूर्ति भइरहेको छ । समितिले ४७५ व्यक्तिगत र १५ वटा सार्वजनिक धाराबाट खानेपानी वितरण भइरहेको छ ।

Next Post

महाराष्ट्रमा रेल दुर्घटनाबाट ११ जनाको मृत्यु

९ माघ २०८१, बुधबार १९:२८
काठमाडौं । भारतको महाराष्ट्रमा रेलबाट हाम फाल्ने क्रममा ११ जनाको मृत्यु भएको छ। रेलमा आगो लागेसँगै हाम फाल्दा अर्को रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पाँचजना घाइते भएका छन्। देशको आर्थिक केन्द्र मुम्बईबाट करिब चार सय किलोमिटर टाढा दुर्घटना भएको जलगाँव जिल्लाका शीर्ष अधिकारी आयुष प्रसादले भने, ‘मानिसहरूलाई […]