कर्णाली जेसीज द्वारा निःशुल्क स्वास्थ्य शिविर , २ सय जना भन्दा बढि लाभान्वित

  ।   १४ असार २०८३, आईतवार २२:३०

कालिकोट । कर्णाली जेसीज कालिकोट (वर्ष २०२६) को आयोजनामा  खाँडाचक्र नगरपालीका -१ को प्रतिमा चोकमा सञ्चालन गरिएको  निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरबाट करिब २ सय जना भन्दा स्थानीय नागरिक लाभान्वित भएका छन्।

शिविरमा रक्तचाप (ब्लड प्रेसर), रक्त समूह (ब्लड ग्रुप) तथा ब्लड सुगर परीक्षण निःशुल्क रूपमा गरिएको थियो। स्वास्थ्य परीक्षणसँगै सहभागीहरूलाई आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो।

कार्यक्रमको समापन सत्रमा सभाको अध्यक्षता कर्णाली जेसीज कालिकोट वर्ष २०२६ का अध्यक्ष जेसी प्रभुराम पाण्डे ले गर्नुभएको थियो। भने कर्णाली जेसीज वर्ष २०२० का अध्यक्ष सबिन कुमार बिष्ट को प्रमुख आतिथ्यतामा समापन सत्र गरिएको हो ।

कार्यक्रमका संयोजक कार्यकारी उपाध्यक्ष भक्त बहादुर शाही रहनुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव नन्दबहादुर मल्ल ले गर्नुभएको हो ।

महासचिव नन्दबहादुर मल्लका अनुसार शिविरमा २ सय जना भन्दा बढिले स्वास्थ्य सेवा लिएका हुन। जसमध्ये रक्तचाप परीक्षण २०० जनाको, रक्त समूह परीक्षण १०९ जनाको तथा ब्लड सुगर परीक्षण ९१ जनाको गरिएको हो। परीक्षणका क्रममा २५ जनामा उच्च रक्तचाप ९हाइ ब्लड प्रेसर० देखिएको तथा ३५ जनामा ब्लड सुगरको मात्रा सामान्यभन्दा बढी रहेको पाइएको महासचिवले बताए । उहाँका अनुसार प्रारम्भिक परीक्षणबाट जोखिममा रहेका व्यक्तिहरूलाई थप उपचार तथा नियमित स्वास्थ्य परीक्षणका लागि परामर्श प्रदान गरिएको हो।

२०२० का अध्यक्ष सबिन कुमार बिष्टले यस्ता स्वास्थ्य शिविरले नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
स्वास्थ्य परीक्षणबाट समयमै रोगको पहिचान गर्न सकिन्छ। आजको कार्यक्रममा देखिएको सहभागिता र परीक्षणको नतिजाले पनि समुदायमा स्वास्थ्य सचेतनाको आवश्यकता अझै रहेको स्पष्ट पारेको छ।

तेस्तै सभाध्यक्ष प्रभुराम पाण्डेले कार्यक्रमबाट प्राप्त तथ्यांकले स्वास्थ्य सचेतनाको आवश्यकता उजागर गरेको बताउनुभयो।
२ सय जनामध्ये २५ जनामा उच्च रक्तचाप र ३५ जनामा सुगरको मात्रा बढी देखिनु चिन्ताको विषय हो। यसले नियमित स्वास्थ्य परीक्षणको महत्वलाई पुष्टि गरेको छ। कर्णाली जेसीज कालिकोटले आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिनेछ।

कार्यक्रम संयोजक भक्त बहादुर शाहीले नागरिकको उत्साहजनक सहभागिताले कार्यक्रम अपेक्षाभन्दा सफल बनेको बताउनुभयो। स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमबाट समुदायले प्रत्यक्ष लाभ लिएको छ। यस सफलताले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रेरणा दिएको छ।

कार्यक्रम सफल बनाउन सामुदायिक फार्मेसी जिरोपोइन्ट तथा डिआर हेल्थ कर्णाली हस्पिटल ले आवश्यक स्वास्थ्य सामग्री तथा प्राविधिक सहयोग उपलब्ध गराएका थिए। आयोजकले सहयोगी संस्था, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ।

ूस्वस्थ नागरिक, समृद्ध समाजू भन्ने मूल नाराका साथ सम्पन्न उक्त शिविरले समुदायमा स्वास्थ्यप्रति जागरण फैलाउनुका साथै नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे महत्वपूर्ण सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

सम्बन्धित शीर्षक