कालिकोट। अविरल वर्षाका कारण बुधबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध बनेको सुर्खेत–जुम्ला सडकखण्ड दिउँसो सञ्चालनमा आएको छ। कालिकोटको शुभकालीका गाउँपालिका–१ मा पर्ने गगने खोलामा गएको ठूलो पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको थियो। हिजो रातिदेखि लगातार परेको वर्षाले खोलामा बाढी आउँदा लेदो, ढुङ्गा र माटो राजमार्गमा थुप्रिँदा यातायात पूर्ण रूपमा ठप्प भएको थियो। यात्रु बोकेका बस, मालवाहक ट्रक र अन्य सवारी साधन बीच बाटोमै रोकिएर लामो समयसम्म अलपत्र परेका थिए।
पहिरो हटाउने प्रयास भइरहेका बेला बिहानै सडकखण्डको अर्को भागमा समेत ठूलो पहिरो खस्दा समस्या अझ जटिल बनेको थियो। यसले गर्दा सडक सञ्चालनमा ल्याउन थप कठिनाइ भएको हो। तर, निरन्तर प्रयासपछि आज विहानैदेखि सडक खुलाइएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ। सडक सञ्चालनमा आएपछि लामो समयदेखि बाटोमै रोकिएका सवारी साधन र यात्रु गन्तव्यतर्फ गएका छन्।
यद्यपि अझै पनि लगातार वर्षा भइरहेकाले पुनः अवरोध हुने जोखिम उच्च रहेको प्राविधिक टोलीले चेतावनी दिएको छ। सडक डिभिजन कार्यालयले चालक तथा यात्रुलाई अत्यधिक सतर्कता अपनाउन अनुरोध गरेको छ।







