रुकुमपश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४, खारामा सशस्त्र द्वन्द्वका क्रममा १५ जनाको सामूहिक हत्या र सिङ्गो गाउँ आगजनी भएको २५ वर्ष पूरा भएको छ । २०५६ फागुन १० गते भएको घटनाका पीडितले न्याय र राहतको आशामै २५ वर्ष बितेको दुःखेसो पोखेका छन् ।
यही घटनामा श्रीमान्, जेठो छोरा र देवरको छोरा गुमाउनुभएकी ७१ वर्षीया राती ओलीले अझैसम्म न्याय पाउन नसकेको बताए। उनका श्रीमान् त्रिभान, जेठो छोरा धनबहादुर र देवरको छोरा लालबहादुरसहित कुरल गाउँका सात जनालाई एउटै लाइन बनाएर तत्कालीन राज्यपक्षका प्रहरीले गोली हानेका थिए । त्यो क्षण स्मरण गर्दै रातीले भन्नुभयो, “आँगनमा लहरै बनाएर गोली हाने, हामी केराको बोटमुनि लुकेर बाँच्यौँ, माइला छोरालाई कुट्नसम्म कुटे, मर्यो भनेर खोल्सामा फाले ।” त्यो दिनपछि रातीको शरीरमा घाम परेको छैन । राज्यले मृतकका परिवारलाई १० लाख राहत दिए पनि निर्दोष व्यक्ति मारिँदा परिवारले न्याय नपाएको गुनासो उनको छ ।
सोही दिन खाराको पोखरीगाउँमा थप सात जनाको हत्या भएको थियो । बुवाको हत्या हुँदा आमाको गर्भमा रहनुभएकी तारा खड्काले बुवाबिनाका २५ वर्ष अँध्यारोमै बितेको बताए । “बुवा मारिँदा म आमाको पेटमा चार महिनाको थिएँ रे,” ताराले भने, “आमाका आँसु रोकिने र न्याय पाउने कहिले होला रु”
उक्त दिन पोखरीगाउँमा सात जना, कुरलमा सात जना र हाइबाङमा एक जना गरेर १५ जनाको हत्या भएको थियो । तत्कालीन खारा गाविस अध्यक्षसमेत रहनुभएकी नेपाली कांग्रेसको कर्णाली प्रदेश कमिटी सदस्य सीता ओलीले १५ जना सर्वसाधारणको हत्या भएको बताए।
कांग्रेसको वडा समिति अध्यक्ष त्रिभान ओलीलगायतले “हामी माओवादी होइनौँ, कांग्रेस हौँ,” भन्दाभन्दै राज्यले उहाँसहित अन्य सर्वसाधारणलाई हत्या गरेको उनले बताए । हत्यासँगै खारागाउँ आगजनी गरिएको थियो । राज्यतर्फबाट भएको त्यो बर्बरता बिर्सनै नसकिने ओलीले जनाए। माओवादी लुकेको भन्दै प्रहरीले सर्वसाधारणका घर, गोठ र घट्टसमेतमा आगो लगाएको थियो । करिब ८६ घरगोठ आगजनीबाट क्षति भएको ओलीले जानकारी दिए ।
त्यो बेला घरगोठ जलेर ध्वस्त भएको तर अझैसम्म राहत पाउन नसकेको पीडित बिरजित दमाईले बताए । अब त राहतको आशा पनि मरिसकेको बताउँदै उहाँले घरगोठ आगजनीबाट भएको क्षति अनुसारको राहत तथा क्षतिपूर्ति कसैले पनि नपाएका दाबी गरे । तत्कालीन अवस्थामा केहीले सामान्य राहत मात्र पाएको उनले बताए ।
त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले निमुखा सर्वसाधारणले हारगुहार गर्दा पनि लाइन लगाएर हत्या गरिएको, गाउँघर नै जलाइएको घटनाका पीडितले न्याय र उचित क्षतिपूर्ति पाउन नसकेको बताए । पीडितलाई राहत, क्षतिपूर्ति र न्याय दिलाउन जिम्मेवार निकायबाट ढिलाइ भइरहेको अध्यक्ष केसीले उल्लेख गर्नुभयो । द्वन्द्वका कारण साबिक रुकुमका ६६५ जनाको मृत्यु भएकाले राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा रहेको छ ।नेपाली रैबार