वैकल्पिक राजनीतितर्फ अर्को कदमः रास्वपा र उज्यालो नेपालको एकता

  ।   १४ पुष २०८२, सोमबार २१:३७

काठमाडौं । देशको समसामयिक राजनीतिमा ठूलो तरंग ल्याउने घटनाक्रमका रूपमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने ऐतिहासिक सहमति भएको छ। सोमबार साँझ काठमाडौंको कमलपोखरीस्थित एक निजी स्थानमा भएको निर्णायक वार्ताले यो राजनीतिक एकीकरणको ढोका खोलेको हो।

उच्चस्तरीय छलफलमा उज्यालो नेपाल पार्टीका  कुलमान घिसिङ, रास्वपाका सभापति रवि लामिछाने तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सहभागी थिए। तीन प्रभावशाली व्यक्तित्वबीचको यो भेटघाट जेन–जी अभियन्ता सुधन गुरुङको पहल र मध्यस्थतामा सम्भव भएको जनाइएको छ।

वार्तापछि भएको सहमतिअनुसार आगामी निर्वाचनका लागि समानुपातिकतर्फको अन्तिम उम्मेदवार सूची एकता सहमतिअनुसार पुनःसमायोजन गरिनेछ र त्यसलाई औपचारिक रूपमा निर्वाचन आयोगमा बुझाइनेछ। एकीकरणपछि पार्टी संरचना, नेतृत्व तह र संगठन विस्तारका विषयमा समेत कार्यदल बनाएर टुंगो लगाइने सहमति भएको स्रोतले जनाएको छ।

राजनीतिक वृत्तमा विशेष चासोको विषय बनेको पक्ष भने कुलमान घिसिङको अघिल्लो अडान हो। उनले यसअघि फागुन २१ पछि हुने निर्वाचन परिणामका आधारमा प्रधानमन्त्री पदमा दाबी गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। पछिल्लो समय भने उनले रास्वपाभित्र दोस्रो वरीयता र करिब २५ प्रतिशत सांगठनिक हिस्साको माग अघि सारेका थिए। तर देशको समग्र राजनीतिक हितलाई प्राथमिकता दिँदै उनी एकीकरणमा सहमत भएको बताइएको छ।

सहमति सार्वजनिक भएपछि कुलमान घिसिङले ‘राष्ट्रियता, राजनीतिक एकता र नयाँ वैकल्पिक राजनीतिक धार निर्माण’का लागि यो निर्णय लिइएको बताएका छन्। उनले व्यक्तिगत पद वा महत्वाकांक्षाभन्दा देश र जनताको अपेक्षा ठूलो भएको उल्लेख गरेका छन्।

उता, रास्वपा सभापति रवि लामिछानेले यो एकीकरणलाई पुरानो राजनीतिप्रति जनतामा बढ्दो निराशाको विकल्पका रूपमा व्याख्या गर्दै नयाँ शक्तिहरूलाई एउटै मोर्चामा उभ्याउने प्रयास भएको प्रतिक्रिया दिएका छन्। मेयर बालेन शाहले पनि युवाकेन्द्रित, पारदर्शी र परिणाममुखी राजनीतिका लागि सहकार्य अपरिहार्य भएको धारणा राखेका छन्।

सहमतिको खबर बाहिरिनासाथ रास्वपाका उपसभापति डीपी अर्याल, उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्यायलगायत नेताहरू कमलपोखरी पुगेका छन्। औपचारिक हस्ताक्षर र संयुक्त घोषणा भने छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको छ।

Next Post

सुर्खेतमा सहिद पार्क नजिकै जंगलभित्र युवक–युवती झुण्डिएको अवस्थामा मृत फेला

१४ पुष २०८२, सोमबार २१:३७
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ अन्तर्गत सहिद पार्क नजिकैको जंगल क्षेत्रमा एक युवक र एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनाले स्थानीय क्षेत्रमा शोक र त्रासको वातावरण सिर्जना गरेको छ। स्थानीय बासिन्दाका अनुसार श्री भैरव सामुदायिक वन र सहिद पार्क आसपासको जंगलमा अन्दाजी २०–२१ वर्ष उमेरका युवक र […]

सम्बन्धित शीर्षक