बालेनको ‘फेसबुक फायर’: अश्लील स्टाटसले मच्चायो हङ्गामा

  ।   १६ कार्तिक २०८२, आईतवार १२:३१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) फेरि एकपटक सामाजिक सञ्जालको केन्द्रबिन्दु बनेका छन् । गएराति फेसबुकमा उनले लेखेको एउटा विवादास्पद स्टाटसले अहिले राजनीतिक र सामाजिक वृत्तमा तहल्का मच्चाइरहेको छ ।

बालेनले उक्त स्टाटसमा भारत, चीन र अमेरिकाजस्ता ठूला मुलुकप्रति समेत अश्लील शब्द प्रयोग गर्दै आक्रोश पोखेका थिए । यत्तिमात्र होइन, उनले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाजस्ता ठूला राजनीतिक दलहरूको नामै उल्लेख गर्दै गालीगलौज गरेका थिए ।

पोस्ट सार्वजनिक भएको केही बेरमै उनले स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालभर फैलिसकेको छ । फलस्वरूप, अब उनको भाषा र व्यवहारप्रति तीव्र आलोचना भइरहेको छ ।

राजनीतिक विश्लेषकहरूले बालेनको यस्तो व्यवहारलाई “भावनामा आएको विस्फोट” र “राजनीतिक अस्थिरता” को संकेतका रूपमा व्याख्या गरेका छन् । पछिल्लो समय नयाँ दल खोल्ने कि रास्वपाबाटै अघि बढ्ने भन्ने दोधारमा रहेका बालेनले रास्वपालाई समेत गाली गरेर आफू त्यस दलसँग पनि टाढा पुगेको आभास दिएका छन् ।

यसबीच, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मेयर साहले जनप्रतिनिधिको मर्यादाको ख्याल गर्नुपर्ने भन्दै तीव्र असन्तोष प्रकट गरिरहेका छन् । केहीले भने उनलाई “स्पष्ट बोल्ने साहसी नेता” का रूपमा पनि व्याख्या गरेका छन्, तर बहुसंख्यक आवाज भने अशोभनीय शब्दप्रयोगलाई अस्वीकार्य ठहर गर्दै “सार्वजनिक पदको इज्जत जोगाउन आग्रह” गरिरहेका छन् ।

Next Post

लागुऔषध कारोबारमा संलग्न समूह सुर्खेतमा पक्राउ, फरार कैदी पनि समातिए

१६ कार्तिक २०८२, आईतवार १२:३१
सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागुऔषध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। बिहीबार साँझ करिब ४:३० बजे प्रहरी टोलीले जिल्ला सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित लागुऔषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा गरेको कारबाहीमा पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेका मध्ये एकजना कैदीसमेत रहेका छन्, जो […]