सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ अन्तर्गत सहिद पार्क नजिकैको जंगल क्षेत्रमा एक युवक र एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनाले स्थानीय क्षेत्रमा शोक र त्रासको वातावरण सिर्जना गरेको छ।
स्थानीय बासिन्दाका अनुसार श्री भैरव सामुदायिक वन र सहिद पार्क आसपासको जंगलमा अन्दाजी २०–२१ वर्ष उमेरका युवक र १९–२० वर्ष उमेरकी युवती एउटै ज्यामुनाको रूखको एउटै हाँगोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन्।
बुधबार बिहान जंगलतर्फ गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको जानकारी दिँदै मृतकहरूको पहिचान र घटनाको कारणबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने बताए।
प्रहरीले घटनास्थललाई सुरक्षित राखी कानुनी प्रक्रिया अनुसार शव परीक्षण तथा अन्य आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको वास्तविक कारण आत्महत्या हो वा अन्य कुनै कारण रहेको हो भन्ने विषयमा प्रहरीको अनुसन्धान जारी रहेको छ।
घटनापछि सहिद पार्क आसपासका बासिन्दा स्तब्ध बनेका छन् भने थप विवरणको प्रतीक्षामा रहेका छन्।








