काठमाडौं — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायर खेलमा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गर्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्यो।
लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै विराटनगर १७।५ ओभरमै ९४ रनमा समेटियो। विराटनगरका साम हिजलेटले ३४, नरेन भट्टले २१ तथा मर्चेन्ड डे–ल्याङ्गेले १७ रन बनाए पनि अन्य ब्याटरले महत्वपूर्ण योगदान दिन नसक्दा टोली पराजयबाट बच्न सकेन।
बलिङतर्फ लुम्बिनीका तिलक भण्डारी उत्कृष्ट रहे, उनले ३ विकेट लिए। रुबेन ट्रम्पेलम्यान र अभिशेष गौतमले समान २–२ विकेट लिए भने शेर मल्ल र जेजे स्मिथले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३४ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। डार्सी शर्टले सानदार ४५ रन प्रहार गरे भने कप्तान रोहित पौडेलले ३४ रन जोडे। बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रतिस जिसीले समान ३–३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट प्राप्त गरे।
अब उपाधिका लागि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिम यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गर्दै फाइनल पुगेको हो। त्यस्तै लुम्बिनीले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।
एनपीएलको फाइनल खेल पर्सि शनिवार दिउँसो ३:३० बजे सुरु हुनेछ।







