भागबण्डाको सर्को
पर्खाइमा
बाँची रहेछन्
वर्षौं पुराना बिरामी परेका सौँराइ
अचेल हिउँद लागेपछि
चिसा बनेर सन्चो हुन थालेपछि
तली वनका अम्लिसा जस्तै
सुख्खा गुनासो बोकेर रुवाबासीको
बासस्थान खोज्छन्
भागबण्डाको एक सर्को
धुवाँ तान्न
बिस्तारै बाबियाहरु
जोडिन आँटे जसरी
लामा बन्छन्
तर पनि त्यान्द्राहरु
एक एक हुँदै जोडिन खोज्दा
लामा हुन पुग्दैनन्
उडेर जाने लामा सर्का
जोडिन पुगेका बाबियाका
दुब्ला त्यान्द्राहरु
गास्दै गास्दै लामो हुने गरी
बाटौ न भन्दा
त्यान्द्राहरु भने कति छिट्टै
दुब्ला भइ दिन्छन्
बरु पत्थरको मान्छे खोजेर
जोड्न सकिएला नौलो साइनु
भन्न सकिएला ए आफ्नाहरु
आउन हो अब त
संगै बसौं रुवाबासीको
सुन्नु पर्ने हुँदैन
अम्लिसे आख्यान
माग्नु पनि पर्दैन
भागबण्डाको सर्को
यति भएपछि त
फेरि फकाउदै बनाउनु छ
उस्तै पत्थरको अर्को मान्छे
बाट्नु छ सबै सबैलाई जोड्ने
दुब्लो पयो।।
दीर्घ बहादुर शाही (डोक्काघरे)







