अपडेट

सुर्खेतमा नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवस भव्य रूपमा मनाइयो

  ।   १६ चैत्र २०८२, सोमबार १३:११

सुर्खेत । नेपाल पत्रकार महासंघले आफ्नो ७१औँ स्थापना दिवस देशभर विविध कार्यक्रमका साथ मनाइरहँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि उत्साहपूर्ण रूपमा प्रभातफेरी आयोजना गरिएको छ।

स्थापना दिवसको अवसरमा मंगलगढी चोकबाट सुरु भएको प्रभातफेरीमा पत्रकार, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै प्रभातफेरी अन्ततः पिपलचौतारामा पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रमका सहभागीहरूले स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिताको आवश्यकतामा जोड दिँदै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकार संरक्षणमा सञ्चार क्षेत्रको भूमिका अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले लोकतन्त्रको सुदृढीकरणका लागि पत्रकारिताको भूमिका अपरिहार्य रहेको बताए। उनले सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिता आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै सञ्चार क्षेत्रलाई अझ विश्वसनीय र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै, कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले दुर्गम भूगोल, स्रोतसाधनको अभाव तथा सुरक्षाका चुनौतीबीच पनि कर्णालीका पत्रकारहरूले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरिरहेको बताए। उनले पत्रकारहरूको सुरक्षा, पेशागत स्थायित्व तथा क्षमता अभिवृद्धिमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका कार्यवाहक अध्यक्ष सुशील खड्काले स्थानीय तहमा पत्रकारिताको अवस्था, अवसर र चुनौतीबारे चर्चा गर्दै पत्रकारहरूको हकहित संरक्षण, पेशागत मर्यादा कायम राख्ने र नयाँ पुस्तालाई आकर्षित गर्ने अभियानलाई महासंघले निरन्तरता दिइरहेको जानकारी दिए।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजना तथा कर्णाली प्रदेश समितिको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाभरका पत्रकारहरूको सक्रिय उपस्थिति रहेको थियो।

स्थापना दिवसले पत्रकारिताको इतिहास, योगदान र भावी दिशाबारे समीक्षा गर्ने अवसर प्रदान गर्नुका साथै सञ्चारकर्मीहरूलाई अझ एकताबद्ध, जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्न प्रेरित गरेको सहभागीहरूले बताएका छन्।

Next Post

कर्णालीलाई मूलधारमा ल्याउन जोड : प्रथम मुख्यमन्त्री शाही

१६ चैत्र २०८२, सोमबार १३:११
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह को निमन्त्रणामा कर्णाली प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले प्रधानमन्त्री निवासमा संयुक्त रूपमा भेटघाट गरेका छन्। भेटका क्रममा प्रधानमन्त्रीले चालु आर्थिक वर्षको बाँकी अवधि तथा आगामी आर्थिक वर्षको बजेटमा कर्णालीका प्राथमिकता, आवश्यकता र सम्भावित कार्यक्रमबारे सुझाव माग्नुभएको थियो। भेटमा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्र […]