काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह को निमन्त्रणामा कर्णाली प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले प्रधानमन्त्री निवासमा संयुक्त रूपमा भेटघाट गरेका छन्। भेटका क्रममा प्रधानमन्त्रीले चालु आर्थिक वर्षको बाँकी अवधि तथा आगामी आर्थिक वर्षको बजेटमा कर्णालीका प्राथमिकता, आवश्यकता र सम्भावित कार्यक्रमबारे सुझाव माग्नुभएको थियो।
भेटमा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्र बहादुर शाही ले कर्णालीलाई राष्ट्रिय विकासको मूलधारमा समेट्न विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै महत्वपूर्ण विषयहरू प्रस्तुत गर्नुभयो।
उहाँले कर्णाली प्रदेश सरकार गठनकै समयमा तयार गरिएको समग्र विकास गुरुयोजनालाई संघीय सरकारका लागि मार्गदर्शक दस्तावेजका रूपमा उपयोग गर्न सकिने उल्लेख गर्नुभयो। साथै, आगामी नीति तथा कार्यक्रम निर्माण गर्दा मानव विकास सूचकाङ्कलाई आधार बनाई योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै यसले समतामूलक र न्यायोचित विकास सुनिश्चित गर्ने बताउनुभयो।
त्यसैगरी, देशभर निर्माणाधीन धेरै आयोजनाहरू समयमै सम्पन्न हुन नसक्दा जनताले सास्ती खेप्नुपरेको उल्लेख गर्दै उहाँले समस्याको पहिचान गरी छिटो समाधान निकाल्न सरकार सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। कर्णाली क्षेत्रमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार तथा सार्वजनिक सेवा प्रवाहमा विशेष प्राथमिकता दिनुपर्नेमा पनि उहाँले ध्यानाकर्षण गराउनुभयो।
प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी, उद्धार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले कर्णाली, भेरी र राप्ती करिडोर सडकसहित कर्णाली लोकमार्ग, मध्य(पहाडी लोकमार्ग तथा मदन भण्डारी लोकमार्गमा वर्षायामका बेला यात्रु अलपत्र नपर्ने गरी आवश्यक उपकरण ९डोजर० व्यवस्थापन गर्न आग्रह गर्नुभयो।
यस्तै, ठेक्का लागेर पनि लामो समयदेखि अधुरै रहेका पुल, सडक तथा विद्युत् विस्तारका आयोजनाहरूलाई तीव्रता दिन सरकारको विशेष पहल आवश्यक रहेको उहाँको भनाइ थियो।
प्रधानमन्त्री बालेन्द्र शाह ले कर्णाली प्रदेशलाई आगामी बजेटमा न्यायोचित रूपमा सम्बोधन गर्ने, तत्काल आवश्यक कार्यक्रमहरू यथाशीघ्र अघि बढाउने तथा चालु वर्षलाई शासकीय सुधारको वर्षका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेटघाट तथा रचनात्मक संवादका लागि सहभागीहरूले प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन्।







