अपडेट

अब बालबालिकाको उज्यालो भविष्य : तिला–८ बालमैत्री र पोषणमैत्री वडा घोषणा हुँदै

  ।   १४ भाद्र २०८२, शनिबार ११:१६

जुम्ला। जुम्लाको तिला गाउँपालिका–८ अब बालमैत्री र पोषणमैत्री वडा घोषणाको पर्खाइमा छ। आवश्यक सबै सूचक पूरा भइसकेपछि आगामी भदौ २५ गते औपचारिक रूपमा घोषणा गर्ने तयारी भएको हो। यो अभियान तिला गाउँपालिका र किर्डाक नेपालको साझेदारीमा अघि बढाइएको हो। विद्यालय, स्वास्थ्यचौकी, बालक्लब, अभिभावकदेखि जनप्रतिनिधिसम्मको सक्रिय सहभागिताले वडालाई बालमैत्री र पोषणमैत्री बनाउन ठोस उपलब्धि हासिल गरिएको सरोकारवालाहरू बताउँछन्।
शुक्रबार गरिएको अन्तिम अनुगमनमा पुरु र जुम्लाकोट गाउँका विद्यालय, स्वास्थ्य संस्था, स्थानीय नागरिक र बालक्लब प्रतिनिधिहरूले व्यापक छलफल गरेका थिए। सूचकमा केही सुधार आवश्यक देखिए पनि सुधार गर्ने प्रतिबद्धता स्थानीयहरूले जनाएपछि वडालाई घोषणा गर्ने बाटो खुला भएको हो।बालबालिकाको अधिकार, स्वास्थ्य, शिक्षा, पोषण, संरक्षण र विकाससँग सम्बन्धित सबै सूचक पूरा भएपछि घोषणा पक्का भएको किर्डाक नेपालका बाल संरक्षण अधिकृत श्रीराम थापाले जानकारी दिए। उनले भने, “वर्षौको मेहनत र निरन्तर छलफलपछि यो उपलब्धि सम्भव भएको हो।”

तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बालबालिकाको भविष्यलाई प्राथमिकतामा राख्दै नीति तथा बजेट व्यवस्थापन गरिएको बताए। उनले बालमैत्री र पोषणमैत्री घोषणा वडाको विकासको अर्को उचाइ हुने विश्वास व्यक्त गरे। त्यसैगरी उपाध्यक्ष गोरिकला बुढाले घोषणा मात्र नभई त्यसलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै भनिन्, “काम नै वास्तविक परिवर्तन ल्याउने हो, घोषणाले मार्ग मात्र देखाउँछ।”

किर्डाक नेपालले बालविवाह न्यूनिकरण, बालश्रम नियन्त्रण, स्वास्थ्य र पोषण प्रवर्द्धनमा गरेको सहकार्य सराहनीय भएको सरोकारवालाको धारणा छ। यसअघि नै जुम्लाकोट स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गरिएको थियो, जसले तिला–८ को कदमलाई थप मजबुत बनाएको छ।

Next Post

सुर्खेतमा होटल सञ्चालकसहित १० पक्राउ: ‘उच्छृङ्खल गतिविधि’मा संलग्न आरोप

१४ भाद्र २०८२, शनिबार ११:१६
सुर्खेत । सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र सामाजिक नैतिकताविपरीत गतिविधिमा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले शुक्रबार राति वीरेन्द्रनगर नगरपालिका–६ का विभिन्न होटल तथा रेस्टुरेन्टमा छापा मारेको थियो । छापामारीका क्रममा ‘उच्छृङ्खल गतिविधि’ भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले १० […]