अपडेट

विगतका कामको समीक्षा गर्दै उत्पादनमूलक क्षेत्रमा जोड दिन मन्त्री खड्काको निर्देशन

  ।   १७ आश्विन २०८३, शनिबार ०७:१७

रुकुम पश्चिम । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले शुक्रबार  उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको अनुगमन गर्दै विगतमा भएका कामको समीक्षा र मूल्यांकन गरेर आगामी योजना व्यवस्थित रूपमा अघि बढाउनुपर्ने बताएकी छन्।

कार्यालयको सेवा प्रवाह, सञ्चालन भइरहेका कार्यक्रम, विगतका उपलब्धि तथा आगामी कार्ययोजनाका विषयमा जानकारी लिँदै मन्त्री खड्काले नयाँ जिम्मेवारी सम्हाल्ने व्यक्तिले विगतको अवस्थाको समेत अध्ययन गरेर काम अघि बढाउनुपर्ने बताइन्।

उनले आवश्यक तयारी र मूल्यांकन गरी एक हप्ताभित्रै कार्यालयका गतिविधिलाई थप व्यवस्थित रूपमा अघि बढाउन कार्यालयलाई निर्देशन दिइन्। विगतमा भएका काम, उपलब्धि, कमजोरी तथा आवश्यक सहयोगका विषयमा वस्तुगत समीक्षा गरेर आगामी कार्यदिशा तय गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्री खड्काले यसअघि सञ्चालन गरिएका विभिन्न तालिम तथा क्षमता विकास कार्यक्रमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै उत्पादनमूलक कामसँग जोड्नुपर्नेमा जोड दिइन्। तालिम लिएपछि त्यसको उपयोगमार्फत रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न आवश्यक सहयोग र समन्वयका लागि प्रदेश सरकार गम्भीर रहेको उनले बताइन्।

“तालिम तथा क्षमता विकासका कार्यक्रम धेरै भएका छन्। अब त्यसबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै उत्पादनमूलक काममा जोड्न आवश्यक छ,” मन्त्री खड्काले भनिन्।

उनले कार्यालयबाट प्रदान हुने सेवा नागरिकमैत्री, प्रभावकारी र व्यवस्थित बनाउन कर्मचारी तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा समेत जोड दिइन्।

अनुगमनका क्रममा भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का रोकाले समेत अनुगमन गरेकी हुन ।

सम्बन्धित शीर्षक