पारदर्शिता र सुशासनतर्फ नगर सरकारको उदाहरणीय अभ्यास
रतन रावल, मुगु । छायाँनाथ–रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले आफ्नो दोस्रो पटकको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। नगर प्रमुखको जिम्मेवारी सम्हालेको छोटो समयमै सम्पत्ति सार्वजनिक गरेर जिल्लामै उदाहरण प्रस्तुत गरेका भामले यसपटक पनि पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई निरन्तरता दिएका छन्।
नगर प्रमुख भामले जेन–जि समूह मुगुको सहकार्यमा आफ्नै कार्यकक्षमा पत्रकार तथा नागरिकको उपस्थितिमा सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। स्मरण रहोस्, नगर प्रमुखको पदभार ग्रहण गरेको एक साता नबित्दै उनले पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक गरेका थिए, जुन मुगु जिल्लामै पहिलो अभ्यास मानिएको छ ।
नगरप्रमुख भामको व्यक्तिगत सम्पत्ति सार्वजनिक विवरणअनुसार नगरप्रमुख भामसँगः सुन १४ तोला, चाँदी २० तोला,बैंक ब्यालेन्स तथा नगद, ११ लाख रुपैयाँ रहेको जानकारी दिएका छन्।
त्यस्तै, विभिन्न स्थानमा रहेको जग्गा विवरण यसप्रकार सार्वजनिक गरिएको छः साविक कार्कीवाडा गाविस – कित्ता नं. ५१, क्षेत्रफल ४२,३१३ वर्ग मिटर, साविक श्रीनगर गाविस – कित्ता नं. ५, क्षेत्रफल ५५८ वर्ग मिटर, साविक पिना गाविस – कित्ता नं. ३, क्षेत्रफल ४,५५८ वर्ग मिटर, साविक लाटिकोईली गाविस, सुर्खेत – २ कित्ता, ३६२ वर्ग मिटर
घर तथा अचल सम्पत्ति नगरप्रमुख भामका अनुसारः छायाँनाथ–रारा नगरपालिका–४, भामबाडा गाउँमा रहेको सात कोठे निजी निवास आमा लालकली भामको नाममा छ। गमगढी बजारमा रहेको आठ कोठे घर पनि आमाकै नाममा रहेको छ। गमगढी बजारकै छ कोठे घर श्रीमती अनिता रावलको नाममा छ । नेपालगन्जमा रहेको तीन तले घर समेत आमा लालकली भामकै नाममा रहेको जानकारी दिएका छन्।
नगरप्रमुख भामले यी सम्पत्तिमा आफ्नो व्यक्तिगत हकदाबी नलाग्ने स्पष्ट गर्दै, अधिकांश सम्पत्ति पुर्ख्यौली रहेको र जग्गामा आफ्नो नाम नरहेको बताएका छन्।
अन्य सम्पत्ति सार्वजनिक विवरणअनुसार घरायसी सम्पत्तिमा तामाका भाँडाकुँडा, हुड्को ताउलो ११ थान, धार्नी, काँसका भाँडाकुँडा २० थान, अन्य साना सामग्री करिब १०० थान र लिउ, गलैँचा तथा लत्ताकपडा आवश्यकता अनुसार रहेको उल्लेख गरिएको
कार्यक्रममा जेन–जि समूह मुगुका जिल्ला प्रमुख राजेन्द्र शाहीले नगरपालिकामा भएका विकास निर्माणका क्रममा देखिने अनियमितता र पारदर्शिताको आवश्यकताबारे ध्यानाकर्षण गराएका थिए। उनले जनप्रतिनिधिबाट यस्तो अभ्यासले नागरिकको विश्वास बढ्ने धारणा व्यक्त गरे।
नगरप्रमुख भामको दोस्रो पटकको सम्पत्ति सार्वजनिक कार्यक्रमले स्थानीय तहमा सुशासन, पारदर्शिता र नैतिक राजनीतिक अभ्यासलाई मजबुत बनाउने विश्वास गरिएको छ। मुगु जस्तो दुर्गम जिल्लामा यस्तो अभ्यासले अन्य जनप्रतिनिधिलाई समेत नैतिक दबाब र प्रेरणा दिने अपेक्षा गरिएको छ।








