सुर्खेत । कर्णाली प्रदेश सरकारको छैटौँ मुख्य न्यायाधिवक्ताका रूपमा दैलेखका अधिवक्ता सर्वराज जोशी नियुक्त भएका छन्। प्रदेश सरकारको सिफारिसमा नियुक्त भएका जोशीले २०८३ असोज १९ गते सोमबार मुख्य न्यायाधिवक्ताको पद तथा गोपनीयताको शपथ ग्रहणसँगै पदभार ग्रहण गरेका हुन्।

प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा भएको शपथ ग्रहण कार्यक्रममा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी, कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही, सभामुख नन्दा गुरुङलगायत प्रदेश सरकारका मन्त्री, अधिकारी, कानुन व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिको सहभागिता थियो।
पदभार ग्रहण गर्दै मुख्य न्यायाधिवक्ता जोशीले प्रदेश सरकारलाई संवैधानिक तथा कानुनी विषयमा आवश्यक राय–सल्लाह प्रदान गर्ने, प्रदेश सरकारका तर्फबाट अदालतमा प्रभावकारी प्रतिनिधित्व गर्ने तथा कानूनको शासनलाई सुदृढ बनाउन भूमिका निर्वाह गर्ने जिम्मेवारी सम्हालेका छन्।
नेपालको संविधानअनुसार मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार हुन्। प्रदेश सरकारका कामकारबाहीलाई संविधान र प्रचलित कानूनअनुकूल बनाउन कानुनी राय दिने तथा प्रदेश सरकारका तर्फबाट अदालतमा प्रतिनिधित्व गर्ने महत्वपूर्ण जिम्मेवारी मुख्य न्यायाधिवक्ताको हुन्छ।
नवनियुक्त मुख्य न्यायाधिवक्ता जोशीबाट प्रदेश सरकारका कानुनी तथा संवैधानिक विषयलाई थप व्यवस्थित बनाउँदै न्यायमा नागरिकको पहुँचलाई प्रभावकारी र सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह हुने छ।






