निर्वाचन मर्यादित बनाउन कालीकोट प्रशासनलाई ११ बुँदे युवा मानवअधिकार रक्षकको ध्यानाकर्षण

  ।   ५ फाल्गुन २०८२, मंगलवार १९:२७

कालीकोट । युवा मानवअधिकार रक्षक सञ्जालले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कालीकोटमा ध्यानाकर्षण पत्र पेश गरेको छ।

सञ्जालकी अध्यक्ष निस्ता कार्कीको हस्ताक्षरसहित पेश गरिएको पत्रमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रतिनिधि सभा सदस्यको निर्वाचन अत्यन्त महत्वपूर्ण संवैधानिक तथा राजनीतिक प्रक्रिया भएको उल्लेख गरिएको छ। लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको निर्वाचन प्रक्रियालाई पारदर्शी, विश्वसनीय र कानुनसम्मत ढङ्गले सञ्चालन गर्न स्थानीय प्रशासनको सक्रिय भूमिका आवश्यक रहेको सञ्जालले जनाएको छ।

पत्रमा पछिल्लो समय निर्वाचन आचारसंहिता उल्लङ्घन, आर्थिक प्रभाव, मतदातालाई प्रलोभनमा पार्ने गतिविधि तथा सामाजिक सञ्जालमार्फत दुष्प्रचार जस्ता चुनौतीहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ। यस्ता गतिविधि नियन्त्रण गर्न प्रभावकारी अनुगमन र कडा कार्यान्वयन आवश्यक रहेको उल्लेख गरिएको छ।

विशेषगरी बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्नुपर्ने विषयमा सञ्जालले जोड दिएको छ। विद्यालय समयभित्र राजनीतिक कार्यक्रम सञ्चालन गर्ने, विद्यालय परिसरलाई प्रचार–प्रसारको थलो बनाउने तथा बालबालिकालाई दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रयोग गर्ने कार्य पूर्ण रूपमा निषेध गरिनुपर्ने माग गरिएको छ। साथै सामाजिक सञ्जालमार्फत बालबालिकाको तस्बिर वा भिडियो दुरुपयोग हुन नदिन निगरानी बढाउन पनि आग्रह गरिएको छ।

ध्यानाकर्षण पत्रमार्फत सञ्जालले निर्वाचन आचारसंहिताको कडाइका साथ कार्यान्वयन, मतदान केन्द्रमा सुदृढ सुरक्षा व्यवस्था, मतदाता शिक्षा कार्यक्रम विस्तार, निर्वाचन खर्च अनुगमन, मतदान तथा मतगणना प्रक्रियामा पारदर्शिता, प्रविधिको प्रभावकारी प्रयोग तथा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण नियन्त्रण गर्न माग गरेको छ। मतदानको अघिल्लो दिन र मतदानको दिन मदिरा पूर्ण निषेध गरिनुपर्ने पनि पत्रमा उल्लेख गरिएको छ।

सञ्जालले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न भएमा मात्र लोकतन्त्रप्रति जनविश्वास सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

Next Post

सुर्खेतमा निर्वाचन सुरक्षामा १,८४६ प्रहरी परिचालन

५ फाल्गुन २०८२, मंगलवार १९:२७
सुर्खेत । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुर्खेतका दुईवटै निर्वाचन क्षेत्रमा सुरक्षाको विशेष तयारी गरिएको छ। जिल्ला सुरक्षा संयन्त्रले निर्वाचन केन्द्रित योजना अनुसार १ हजार ८४६ जना प्रहरी जनशक्ति परिचालन गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार खटाइएका सुरक्षाकर्मीमध्ये २१२ जना […]