सुर्खेत । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुर्खेतका दुईवटै निर्वाचन क्षेत्रमा सुरक्षाको विशेष तयारी गरिएको छ। जिल्ला सुरक्षा संयन्त्रले निर्वाचन केन्द्रित योजना अनुसार १ हजार ८४६ जना प्रहरी जनशक्ति परिचालन गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार खटाइएका सुरक्षाकर्मीमध्ये २१२ जना सशस्त्र प्रहरी र १ हजार ६२८ जना जनपद प्रहरी रहेका छन्। आवश्यक तालिम प्रदान गरी उनीहरूलाई सोमबारदेखि आ–आफ्नो कार्यक्षेत्रमा पठाइएको हो।
अबको १० देखि १५ दिनसम्म मतदान केन्द्र र मतदान स्थल वरपर गस्ती, निगरानी तथा शान्ति सुरक्षाको जिम्मेवारी उनीहरूले सम्हाल्नेछन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले निर्वाचन अवधिभर नियमित प्रहरीसँग समन्वय गर्दै सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिनुभयो। कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विशेष सतर्कता अपनाइने उहाँको भनाइ छ।
यसैबीच निर्वाचन सामग्री पनि सुर्खेत आइपुगेको छ। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दप्रसाद चौलागाईंका अनुसार आवश्यक मतपत्र सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ भने मतपेटिका पर्याप्त मात्रामा उपलब्ध छन्। बाँकी सामग्री क्रमशः जिल्लामा भित्रिने प्रक्रियामा रहेको कार्यालयले जनाएको छ।
निर्वाचनको तयारीसँगै सुर्खेतमा मतदाता संख्या २ लाख ४८ हजार ९४३ पुगेको छ। तीमध्ये १ लाख २१ हजार ८८९ पुरुष र १ लाख २७ हजार ५४ महिला मतदाता रहेका छन्। सुरक्षा व्यवस्थापन र सामग्री तयारी पूरा भएसँगै निर्वाचनलाई सफल बनाउन सम्बन्धित निकायहरू तीव्र तयारीमा जुटेका छन्।







