चार वर्षदेखि पुलविहीन फुक्गाढ, सरकारको बेवास्ताले जोखिमपूर्ण यात्रा

  ।   ३ श्रावण २०८३, आईतवार ११:५०

कालिकोट । कर्णाली कोरिडोर अन्तर्गत कालिकोटको फुक्गाढ खोलामा स्थायी पुल निर्माण हुन नसक्दा वर्षौंदेखि स्थानीयवासी, यात्रु र सवारी चालकले सास्ती भोगिरहेका छन्। २०७९ साल असोजमा आएको बाढीले बेलिब्रिज बगाएपछि खोलामा सुरक्षित आवागमनको व्यवस्था हुन नसक्दा प्रत्येक वर्षायाममा जोखिम झन् बढ्दै गएको छ।

वर्षा सुरु भएसँगै फुक्गाढ खोलामा पानीको बहाव तीव्र हुने भएकाले यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालन प्रभावित हुने गरेको छ। सामान्य वर्षामै घण्टौंसम्म यातायात ठप्प हुने, यात्रु अलपत्र पर्ने तथा चालकहरूले ज्यानको जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता रहेको स्थानीयहरूको गुनासो छ।

स्थानीय कटकबहादुर बमका अनुसार वर्षाको समयमा तीव्र बहाव भएको खोलाबाट यात्रुवाहक सवारीसाधन सञ्चालन हुनु अत्यन्त जोखिमपूर्ण छ। “कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्छ। सुरक्षित पुल नहुँदा सर्वसाधारणको ज्यान नै जोखिममा परेको छ,” उनले बताए।

पुल अभावका कारण दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीलाई समयमै अस्पताल पुर्‍याउने कार्य, विद्यार्थीको नियमित आवतजावत तथा स्थानीय आर्थिक गतिविधिमा समेत प्रत्यक्ष असर परेको छ। वर्षायाममा सडक अवरुद्ध हुँदा कर्णालीका दुर्गम बस्तीहरू लामो समयसम्म यातायात सेवाबाट वञ्चित हुने गरेका छन्।

स्थानीयवासीले वर्षौंदेखि स्थायी पुल निर्माणको माग गर्दै आए पनि सम्बन्धित निकायबाट अपेक्षित गति नदेखिएको उनीहरूको आरोप छ। पटक–पटक आश्वासन मिले पनि निर्माण कार्य सुरु नहुँदा सरकारप्रतिको विश्वास कमजोर बन्दै गएको उनीहरूको भनाइ छ।

हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार कर्णाली कोरिडोर अन्तर्गत गार्डसहित नौ वटा पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। निर्माण कम्पनीबाट समयमै डिजाइन र लागत अनुमान (स्टिमेट) पेश हुन नसक्दा काम ढिलो भएको उनले बताए।

उनका अनुसार फुक्गाढसहित तीन वटा पुलको डिजाइन स्वीकृत भइसकेको छ र आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरेर छिट्टै निर्माण सुरु गर्ने तयारी भइरहेको छ।

दुर्गम कर्णालीका लागि जीवनरेखाका रूपमा रहेको कर्णाली कोरिडोरमा आधारभूत पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले स्थानीयको दैनिकी, सेवा प्रवाह र आर्थिक गतिविधिमा गम्भीर असर पारिरहेको छ। फुक्गाढमा स्थायी पुल निर्माण सम्पन्न भए वर्षायाममा हुने यातायात अवरोध हट्नुका साथै कोरिडोर थप सुरक्षित, भरपर्दो र प्रभावकारी बन्ने स्थानीयको अपेक्षा छ।

Next Post

काठमाडौंतर्फ जाँदै गरेको सरकारी स्कार्पियो बससँग ठोक्कियो

३ श्रावण २०८३, आईतवार ११:५०
रुकुम पश्चिम । रुकुम पश्चिमबाट काठमाडौं जाँदै गरेको जिल्ला समन्वय समिति रुकुम पश्चिमको सरकारी स्कार्पियो मध्यपहाडी लोकमार्ग अन्तर्गत मुसिकोट नगरपालिका–८ घोरखानीमा यात्रुबाहक बससँग ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि दुवै सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आज बिहान करिब ७स्३० […]