बालिका सम्मेलनसँगै फुटबल, चित्रकला र निबन्ध प्रतियोगितास बालविवाहविरुद्ध ‘एक गोल’ अभियान
जुम्ला।राष्ट्रिय बाल दिवसको अवसरमा जुम्लाको तातोपानी गाउँपालिकाले बालबालिकाको अधिकार, नेतृत्व विकास, प्रतिभा प्रस्फुटन तथा अर्थपूर्ण सहभागितालाई केन्द्रमा राख्दै विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।
बालिकाको नेतृत्व क्षमता विकास र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले आयोजित तातोपानी गाउँपालिकाको प्रथम बालिका सम्मेलन बाट शिक्षा, स्वास्थ्य, सुरक्षा, संरक्षण, सहभागिता, नेतृत्व विकास तथा समान अवसरसँग सम्बन्धित २१ बुँदे घोषणा–पत्र जारी गरिएको छ।
सम्मेलनमा बालिकामाथि हुने विभेद, बालविवाह, हिंसा तथा सामाजिक कुरीतिहरूको अन्त्यसँगै बालिकालाई शिक्षा, खेलकुद, नेतृत्व र सार्वजनिक क्षेत्रमा समान अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिइएको थियो।
बालिका फुटबल कपमा दुर्गा मावि लामा प्रथम
बालिकाको नेतृत्व विकाससँगै खेलकुदमा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले भदौ २७ र २८ गते प्रथम उपाध्यक्ष बालिका फुटबल कप आयोजना गरिएको थियो। तातोपानी गाउँपालिकाका आठ माध्यमिक विद्यालयमध्ये छ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा श्री दुर्गा माध्यमिक विद्यालय, लामा प्रथम भएको छ।
विजेता दुर्गा माध्यमिक विद्यालयले नगद ४० हजार रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरेको छ। त्यस्तै श्री नेत्रज्योति माध्यमिक विद्यालय, हाकु ठाटा–४ द्वितीय हुँदै नगद २० हजार रुपैयाँ, शिल्ड तथा मेडल प्राप्त गरेको छ भने श्री गणेश माध्यमिक विद्यालय तृतीय हुँदै नगद १५ हजार रुपैयाँ र मेडल प्राप्त गर्न सफल भएको छ।
प्रतियोगितामा एक गोल, बालविवाहविरुद्धको गोल’ भन्ने अभियानलाई मुख्य सन्देशका रूपमा अघि सारिएको थियो। खेलकुदको माध्यमबाट बालविवाह, बालिकामाथि हुने विभेद तथा विभिन्न सामाजिक कुरीतिविरुद्ध सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।
चित्रकलामा हिमशिखर, निबन्धमा दुर्गा माविको उत्कृष्ट प्रदर्शन
राष्ट्रिय बाल दिवसकै अवसरमा आयोजित चित्रकला प्रतियोगितामा श्री हिमशिखर माध्यमिक विद्यालय प्रथम भएको छ। प्रथम स्थान हासिल गर्ने विद्यालयले नगद ५ हजार रुपैयाँ प्राप्त गरेको छ। श्री दुर्गा माध्यमिक विद्यालय द्वितीय हुँदै ४ हजार र श्री नेत्रज्योति माध्यमिक विद्यालय तृतीय हुँदै ३ हजार रुपैयाँ प्राप्त गरेका छन्। दुर्गा माध्यमिक विद्यालयकी मधुले सान्त्वना स्थान हासिल गरेकी छन्।
त्यस्तै माध्यमिक तहस्तरीय निबन्ध प्रतियोगितामा गाउँपालिकाका आठवटै माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। ‘जलवायु परिवर्तन र बाल अधिकार स् सुरक्षित भविष्यका लागि हाम्रो भूमिका’ विषयमा आयोजित प्रतियोगितामा श्री दुर्गा माध्यमिक विद्यालय, लामाका देवराज कामी प्रथम भएका छन्।
सोही विद्यालयकी अनुराधा चौलागाईं द्वितीय र श्री नेत्रज्योति माध्यमिक विद्यालयकी स्वीकृति उपाध्याय तृतीय भएकी छन्। विजेताहरूलाई क्रमशः ३ हजार, २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
बालबालिकालाई नीति निर्माणमै सहभागी गराउनुपर्नेमा जोड
कार्यक्रमको अध्यक्षता तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले गर्नुभएको थियो। नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका निवर्तमान मन्त्री माधवप्रसाद उपाध्याय प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं, निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. गणेश रोकाया तथा किर्डाक नेपालका परियोजना व्यवस्थापन प्रमुख रामबहादुर रावत विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
वक्ताहरूले बालबालिकालाई कार्यक्रम तथा औपचारिक गतिविधिमा सहभागी गराउनु मात्र पर्याप्त नभई स्थानीय नीति निर्माण, योजना तर्जुमा र निर्णय प्रक्रियामै उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए। विशेषगरी बालिकालाई शिक्षा, खेलकुद, नेतृत्व तथा सामाजिक र सार्वजनिक क्षेत्रमा समान अवसर प्रदान गर्नुपर्ने उनीहरूको भनाइ थियो।
तातोपानीमा आयोजित कार्यक्रमले बालबालिकाको प्रतिभा पहिचानसँगै उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता, खेलकुदमा सहभागिता र बाल अधिकारप्रतिको सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।
‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय बाल दिवसको मूल भावनालाई आत्मसात् गर्दै स्थानीय तहबाटै बाल अधिकारको संरक्षण, विकास, सहभागिता र सम्मानलाई थप प्रभावकारी बनाउनुपर्नेमा कार्यक्रमले विशेष जोड दिएको छ।







