सुर्खेत । वीरेन्द्रनगरको फोरलेन सडकमा ट्रकको ठक्करबाट एक जना महिला गम्भीर घाइते भएकी छन् । भैरवी गाउँपालिका–७ वोर्ती दैलेख घर भएकी ७५ वर्षीय जैशीलाई भे १ ख १९६३ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
कर्णाली राजमार्गको मुलपानी–बाँगेशीमल खण्डको मुलपानीदेखि पश्चिममा जेब्रोक्रसमा बाटो काट्ने बेला ट्रकले ठक्कर दिँदा दैलेखकी तुलसी जैशी गम्भीर घाइते भएकी हुन् । वीरेन्द्रनगरबाट कालिकोट जाँदै गरेको ट्रकले बाटो कट्दै गरेको अवस्थामा जैशीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते जैशीलाई तत्कालै उद्दार गरेर प्रहरीले उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाएको छ। ठक्करबाट खुट्टा क्षतविक्षत बनाएको र सुर्खेतमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको छ ।
दुर्घटना लगत्तै चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो एक महिनामा मुलपानी–बाँगेशीमल सडक खण्डमा दुई ठूलो दुर्घटना भएका छन् । यहीँ बैशाख ७ गते विहान रेडियो नेपालको अगाडी फोर्स गाडीको ठक्करबाट जुम्लाका कालिबहादुर बुढाको मृत्यु भएको थियो ।







