सुर्खेत। युवा मानवअधिकार रक्षकहरूको सुरक्षा, नेतृत्व क्षमता विकास, सार्वजनिक दृश्यता वृद्धि र प्रभावकारी सञ्चार कौशल सक्षम बनाउने उद्देश्यसहित दुई दिने अन्तरपुस्ता कार्यशाला सुर्खेतमा सम्पन्न भएको छ।
मङ्सिर १८ र १९ गते आयोजना भएको कार्यक्रममा कर्णाली प्रदेश सुर्खेत र हुम्ला जिल्लाका विभिन्न स्थानीय तहका युवा मानवअधिकार रक्षकहरूको सहभागिता रहेको थियो।
कार्यक्रम ग्रामीण उन्मुख युवा अभियान तथा युवा मानवअधिकार रक्षक सञ्जाल, हुम्ला र सुर्खेतको संयुक्त समन्वयमा भएको हो।
कार्यक्रमका प्रमुख सेसनहरूमा पहिलो दिन उद्घाटन सत्रपछि मानवअधिकार, सञ्चार रणनीति र नेतृत्व विकासका विषयमा बहस तथा प्रशिक्षण भएको थियो। प्रशिक्षक तथा कार्यकारी निर्देशक लुभराज न्यौपानेले युवा मानवअधिकार रक्षकको भूमिका, सहकार्य र सुशासन विषयमा प्रशिक्षण दिँदै मजबूत सञ्चार रणनीति बिना अधिकार संरक्षण प्रभावकारी हुन नसक्ने बताए।
त्यसपछि डा. देवन्द्र प्रसाद अधिकारीले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकारको वर्तमान स्थिति, चुनौती, अवसर र एक्यवद्धता बारे सेसन सञ्चालन गर्दै मानवअधिकार अभियानलाई निरन्तरता दिन युवाको भूमिका अपरिहार्य रहेको उल्लेख गरे।
दोस्रो दिन मानवअधिकारको ऐतिहासिक परिप्रेक्ष्य, नेपालमा मानवअधिकार रक्षकमाथि भइरहेका चुनौती, महिला रक्षकहरूको भूमिका र अभियान व्यवस्थापनबारे अनुभव आदान–प्रदान गरिएको थियो। मानबहादुर कार्की, पिताम्बर ढकाल , गीता कोईराला तथा न्यौपानेले क्रमशः विषयगत प्रस्तुति दिएका थिए।
गलत सूचना, बदनाम अभियान र सुरक्षाबारे प्रशिक्षण
कार्यशालामा सहभागीहरूले मानवअधिकार रक्षकहरूविरुद्ध भइरहेका गलत सूचना, बदनाम अभियान, हानिकारक कथन तथा मनोवैज्ञानिक दबाबलाई कसरी पहिचान गर्ने र प्रभावकारी रूपमा सामना गर्ने भन्ने विषयमा व्यावहारिक सिकाइ प्राप्त गरे।
यसै अवसरमा डा. अधिकारीले भने, “युवाको काम र नेतृत्वलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न रणनीतिक सञ्चार अत्यावश्यक छ। सही कथनले अधिकार संरक्षणलाई गति दिन्छ।”
त्यस्तै, न्यौपानेले जोड दिए, “सशक्त संचार रणनीति बनेपछि युवा रक्षकहरू अझ दृढ, विश्वसनीय र प्रभावशाली रूपमा समुदायमा उभिन सक्छन्।
कार्यशालामा युवा मानव अधिकार रक्षक कर्णाली प्रदेश संयोजक सन्तोष बी।के।का अनुसार कार्यक्रमले जिल्लास्तरमा सक्रिय युवा मानवअधिकार रक्षकहरूको सञ्जाल विस्तार, परिचालन सुदृढीकरण तथा सुरक्षा संयन्त्रलाई व्यवस्थित बनाउने मार्ग तयार गरेको छ। उनले भने, “यो कार्यक्रम छलफल मात्र होइन, परिवर्तनको सुरुवात हो। अब युवाले संरचनात्मक रूपमा अभियानलाई अघि बढाउनेछन्।”
कार्यक्रम अन्त्यमा सहभागीले सिकाइ तथा रणनीतिक योजनाको सामूहिक प्रस्तुति गर्दै भविष्यमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।








