कुलमानप्रति कटाक्ष, ओलीले बेवास्ता गरेको जडीबुटी बेचेर आत्मनिर्भर बन्न सकिने दाबी
सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम बाट सुरु भएको एकता कर्णाली सम्म पुग्दा एकता अभियानले नेकपालाई देशको पहिलो राजनीतिक शक्ति बनाउने दाबी गरेका छन्।
शनिबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले एकतासभाहरू प्रचारमुखी नभई विगतका कमजोरीमाथि आत्मसमीक्षा र आत्मालोचनाका लागि केन्द्रित रहेको बताए।
“सुशासन, भ्रष्टाचारमुक्त शासन, आर्थिक समृद्धि र सामाजिक न्यायसहितको समाज निर्माण नै हाम्रो लक्ष्य हो,” प्रचण्डले भने, “विगतका कमजोरी अब दोहोरिँदैनन् भन्ने प्रतिबद्धताका साथ हामी जनतासँग पुनः एकाकार हुँदैछौँ।” प्रचण्डले जेन–जी आन्दोलनलाई सही ठहर गर्ने पार्टी नेकपा नै भएको दाबी गर्दै पछिल्लो सरकार र जेन–जीबीच भएको सम्झौता पनि आफ्नै नीति तथा कार्यक्रमको निरन्तरता भएको बताए।
कुलमानप्रति प्रचण्डको कडा टिप्पणी
सभामै प्रचण्डले पूर्व ऊर्जामन्त्री कुलमान घिसिङप्रति कडा टिप्पणी गरे। घिसिङले गुन बिर्सेर पार्टीविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै उनले भने, “लोडसेडिङले आक्रान्त नेपाललाई उज्यालो बनाउने ऐतिहासिक काम हामीले गर्यौँ। तर अहिले कुलमानले जुन थालमा खाए, त्यही थालमा छेद हाल्न खोजिरहेका छन्।”
कुलमानप्रति लक्षित गर्दै प्रचण्डले चेतावनी दिए,
“यस्तो बैगुनी प्रवृत्तिले सफलता पाउँदैन। कुलमानको बुद्धि फिरोस् भन्ने चाहन्छु।”
कुलमान आफूबाट अलग भएर नयाँ पार्टी खोलेको सन्दर्भमा उनले नेपाली जनताले यस्तो कदमलाई माफ नगर्ने दाबी गरे। आफू दुईपटक प्रधानमन्त्री हुँदा घिसिङलाई पहिचान गरेर जिम्मेवारी दिएको स्मरण गराउँदै कृतज्ञता नदेखाएको आरोप लगाए।
माधव नेपालको भनाइः ‘इमानदारहरूको पार्टी’
सभालाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक माधवकुमार नेपालले नेकपा इमानदारहरूको पार्टी भएको दाबी गरे।
“भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन सकिँदैन,” उनले भने।
विगतका कमजोरी स्वीकार्दै साझा भावनाका साथ अघि बढ्नकै लागि पार्टी एकता गरिएको र आफू तथा प्रचण्ड मिलेर देशका लागि महत्वपूर्ण काम गरेको दाबी उनले गरे।
झलनाथ खनालः ‘समाजवादी अर्थतन्त्रको आधार निर्माण गर्छौं’
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कर्णाली र सुदूरपश्चिमको विकास बिना समाजवाद सम्भव नहुने बताए।
“उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्र निर्माण नगरी समाजवाद आउँदैन,” उनले भने, “नेकपाले जनताको जीवनस्तर बदल्ने नीति अघि सारेको छ।”
भीम रावलः ‘कर्णालीको जडीबुटी सुनसरह’
नेता भीम रावलले कर्णाली र सुदूरपश्चिम प्राकृतिक सम्पदाले भरिपूर्ण हुँदाहुँदै राज्यले उपेक्षा गरेको टिप्पणी गरे।
“केपी शर्मा ओली नेतृत्वको सरकारले नदेखेको कर्णालीको जडीबुटी, वन र जलस्रोत सही ढंगले उपयोग गर्न सके यहीँबाट अरबौँ आम्दानी गर्न सकिन्छ,” उनले भने।
उनले कर्णालीलाई गरिबीको प्रतीक होइन, सम्भावनाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
‘एकता अभियानले नयाँ आशा जगाएको’
नेताहरूले कर्णाली र सुदूरपश्चिमबाट सुरु भएको एकता अभियानले देशभर नयाँ राजनीतिक आशा जगाएको दाबी गरे। जनताको भरोसा पुनः जित्दै नेकपाले समाजवादी क्रान्तिको आधार तयार गरिरहेको उनीहरूको भनाइ थियो।








