रतन बहादुर रावल,
मुगु । मुगुमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान (डेमो) प्रदर्शन गरिएको छ। सदरमुकाम गमगढी बजारस्थित देविदत्त गण (ख) सुरक्षा सेमूमा आयोजित नमुना मतदान कार्यक्रममार्फत मतदातालाई मतदान प्रक्रियाबारे व्यवहारिक जानकारी गराइएको हो।
नेपाली सेना श्री हनुमान ध्वज गुल्म मुगुको आयोजनामा सम्पन्न कार्यक्रममा मतदाता प्रवेशदेखि मत खसाल्ने सम्पूर्ण प्रक्रिया व्यवहारिक रूपमा प्रदर्शन गरिएको थियो। साथै मतदान केन्द्रमा हुने व्यवस्थापन, भिड नियन्त्रण, अनैतिक गतिविधि तथा सम्भावित धाँधली रोकथाम र नियन्त्रणका उपायबारे समेत जानकारी गराइएको थियो।
नमुना मतदान कार्यक्रममा निर्वाचनका क्रममा आउन सक्ने सम्भावित सुरक्षा चुनौती र त्यसको व्यवस्थापनबारे सुरक्षाकर्मीहरूले प्रत्यक्ष अभ्यास गरेका थिए। श्री हनुमान ध्वज गुल्म मुगुका सेनानी खड्ग बहादुर श्रेष्ठका अनुसार यस्ता अभ्यासले सुरक्षाकर्मीहरूलाई निर्वाचन अवधिमा जिम्मेवारी निर्वाह गर्न थप सक्षम बनाउने विश्वास लिइएको छ।
उनका अनुसार नमुना मतदान कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मतदान केन्द्रको सुरक्षा सतर्कता, शान्ति सुव्यवस्था तथा अमनचयन कायम गर्ने उपाय र आकस्मिक अवस्थाको व्यवस्थापनसम्बन्धी डेमो प्रस्तुत गरेका थिए। यस्ता कार्यक्रमले निर्वाचनलाई सुरक्षित, विश्वसनीय र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा निकायहरूबीचको समन्वय र तयारीलाई अझ स्पष्ट बनाउने उनले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नु सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा नागरिक समाज सबैको साझा दायित्व भएको उल्लेख गरे। उनले मतदातालाई ढुक्कका साथ निर्वाचन प्रक्रियामा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रहसमेत गरे।
नमुना मतदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। निर्वाचन प्रक्रियालाई मध्यनजर गर्दै पहिलो दिन जिल्ला प्रशासन कार्यालयमा नेपाली सेना तथा अन्य सुरक्षा निकायबीच समन्वय बैठक सम्पन्न भएको र त्यसकै निरन्तरतामा आज नमुना मतदान प्रदर्शन गरिएको सेनानी श्रेष्ठले जानकारी दिए।







