काठमाडौं । सरकारले यस वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ। २००७ साल फागुन ७ गते राणाशासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको स्मरणमा फागुन ६, ७ र ८ गते देशभर विविध कार्यक्रम आयोजना गरिनेछ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति गठन गरेको हो। समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरू, मुख्यसचिव, प्रधानसेनापति, सचिवहरू तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य रहेका छन्।
गृह मन्त्रालयका सचिव समितिको सदस्य–सचिव रहनेछन्। निर्णयअनुसार देशभरका सरकारी निकायसँगै विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा पनि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।
सरकारले प्रजातन्त्र दिवसको मूल समारोह सैनिक मञ्च टुँडिखेलमा आयोजना गर्ने निर्णय गरेको छ।







