सुर्खेत । केन्द्रीय सत्ता समिकरण बदलिएसँगै कर्णाली प्रदेश सरकार बाहिरिएपछि मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । चैत्र १० गते मंगलबार संसदबाट विश्वासको मत लिनेगरी संसद सचिवालयले पत्र प्राप्त गरेको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन् ।
सत्ता समिकरण परिवर्तन भएपछि काँग्रेसबाट सहभागी तीन मन्त्रीहरुले गत फागुन २२ गते राजिनामा दिँदै काँग्रेसले समर्थन फिर्ता लिएका थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।
केन्द्रमा भएको सहमति अनुसार कर्णालीमा एमालेको भागबण्डा लाग्ने सहमति नजिक भएको खबर सार्वजनिक भएका थिए। मुख्यमन्त्रीले विश्वासको मत लिन लागे पनि अहिलेसम्म नेतृत्वको टुङ्गो भने लागिसकेको अवस्था छैन ।
कर्णालीमा एमालेले पनि दाबी गरेकाले अहिलेसम्म केन्द्रले टुङ्गो लगाउन नसकेको हो । स्रोतका अनुसार मुख्यमन्त्री शर्माले आज बिहान एमाले संसदीय दलका नेता यामलाल कँडेलसँग छलफल गरेका छन् । तर, माओवादीबाट नेतृत्व लिएका मूख्यमन्त्री शर्मा आफ्नो अडान नछोडी विश्वासको मत लिनेगरी पत्र संसद सचिवालयमा पठाएका हुन् । – नेपालकर्म