अपडेट

रास्कोटमा दोस्रो मेयर कप आजदेखि सुरु : क्रिकेट र भलिबलमा जम्दै युवा उत्साह

  ।   २८ आश्विन २०८२, मंगलवार १९:४३

कालिकोट । कालिकोटको रास्कोट नगरपालिकाद्वारा आयोजना गरिएको दोस्रो मेयर कप खेलकुद प्रतियोगिता आजदेखि भव्य रूपमा प्रारम्भ भएको छ। उद्घाटन समारोहका साथ सुरु भएको प्रतियोगितामा जिल्लाका स्थानिय तहका खेलाडि टोलीहरूले सहभागिता जनाएका छन्। पुरुष तथा महिला दुवै समूहका खेलाडीहरूबीच क्रिकेट र भलिबल खेलमा प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ।

द्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै नगरप्रमुख धर्मराज शाही (पोषण)ले खेलकुदलाई केवल मनोरञ्जन नभई विकास र सामाजिक एकताको माध्यमका रूपमा परिभाषित गर्नुभयो। “मेयर कपको उद्देश्य केवल प्रतिस्पर्धा होइन, युवामा सकारात्मक सोच, अनुशासन र सामुदायिक एकता विकास गर्नु हो,” उहाँले भन्नुभयो। उहाँका अनुसार खेलकुदले समाजमा सहकार्य, सद्भाव र आत्मविश्वास अभिवृद्धि गर्छ। नगरप्रमुख शाहीले अन्त्यमा भने, “हामीले खेललाई रास्कोटको गौरव र एकताको प्रतीक बनाउन खोजिरहेका छौं। खेलकुदले विकास, पर्यटन र सामाजिक समृद्धिमा सन्देश दिन्छ।”

 

 

त्यस्तै, नगर उप–प्रमुख मनिराज बरालले खेलकुदलाई शिक्षा र विकाससँग जोडिएको मेरुदण्डको रूपमा परिभाषित गर्दै विद्यालयदेखि समुदायस्तरसम्म खेलकुद कार्यक्रम नियमित गर्नुपर्नेमा जोड दिनुभयो। “हाम्रो लक्ष्य युवाहरूको क्षमता उजागर गर्दै उनीहरूलाई नेतृत्व र आत्मविश्वासमा सबल बनाउनु हो,” उहाँले भन्नुभयो।

उद्घाटन समारोहमा नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, स्थानीय बासिन्दा, खेलाडीहरू र विद्यालयका शिक्षक–विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रममा उत्साह थपिएको थियो।

कार्यक्रम संयोजक तथा नगर खेलकुद समिति अध्यक्ष गणेश शाहीका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। “यो प्रतियोगिताले जिल्लाको खेलकुद स्तर उकास्ने, खेलाडी उत्पादन गर्ने र स्वस्थ जीवनशैली प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ,” उहाँले बताउनुभयो।

नगर खेलकुद समितिले प्रतियोगिताले जिल्लाभरका खेलप्रेमीहरूलाई एकताबद्ध गराउने र युवामा खेल संस्कृतिको विकास गर्ने विश्वास व्यक्त गरेको छ। स्थानीय विद्यालय, सामुदायिक संस्था र युवाहरूको सक्रिय सहभागिताले प्रतियोगिताको आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ।

खेलकुदसँगै आयोजित सांस्कृतिक कार्यक्रमले उद्घाटन समारोहलाई झन् रंगीन बनाएको छ। चर्चित कलाकार ध्रमेन्द्र सुनार, बाल कलाकार प्रशान्त सुनार, र स्थानीय कलाकारहरूले प्रस्तुत गरेको रास्कोटेली लोकनृत्य र लोकगीतले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

रास्कोट नगरपालिकाका जनप्रतिनिधिहरूका अनुसार मेयर कप केवल खेल प्रतियोगिता नभई युवा सशक्तिकरण, सामाजिक एकता र नगरको पहिचान निर्माणको अभियान हो।

 

पुरुष क्रिकेटतर्फ विजेता टोलीलाई १ लाख रुपैयाँ, उपविजेतालाई ६० हजार, र तृतीय टोलीलाई ४० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

त्यस्तै, महिला भलिबलतर्फ विजेता टोलीका लागि ८० हजार, उपविजेताका लागि ३० हजार, र तृतीय टोलीका लागि १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

रास्कोटलाई खेलकुद केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो प्रतियोगिता असोज २८ गतेदेखि ३२ गतेसम्म सञ्चालन हुनेछ।

Next Post

मायालु स्वभावका मान बहादुर शाहीको अन्तिम दाहसंस्कर : सिंगो गाउँ शोकमा

२८ आश्विन २०८२, मंगलवार १९:४३
तिला नदीको सेरिघाटमा अन्तिम विदाई कालीकोट — कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–२ निवासी तथा नेपाली कांग्रेस शुभकालिका वडा नम्बर २ का सभापति मान बहादुर शाहीको मंगलबार तिला नदीस्थित सेरिघाटमा अन्तिम दाहसंस्कार गरिएको छ। बिगत लामो समयदेखि शुभकालिका गाउँपालिकाको गाडी चालकका रूपमा सेवा गर्दै आएका शाही स्थानीयहरूमाझ अत्यन्तै मायालु, सहयोगी र सरल […]